लेकाली अनलाइन
असोज १८, सल्यान ।
दसैं–तिहार लगाएत चाडबाड नजिकिँदै गर्दा सल्यानमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि भएको छ ।
स्थानीय प्रशासनले दैनिक उपभोग्य वस्तुको मूल्य निर्धारण गरे पनि कर र ढुवानी भाडा बढेको भन्दै सबैजसो उपभोग्य वस्तुमा मूल्यवृद्धि गरिएको छ । एक साताअघि १ हजार ६ सयदेखि दुई हजार रुपैयाँमा बिक्री भएको चामलको मूल्य प्रतिबोरा दुई हजार पाँचसय पुगेको छ ।
दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएपछि न्यून आय भएका विपन्न परिवार मारमा परेका छन् । मूल्यवृद्धि गरिएपछि चाडबाडका लागि गरिने किनमेल प्रभावित बनेको छ ।
चर्को मूल्यवृद्धिले चाडबाडको किनमेल गर्न समस्या भएको बाग्चौर नगरपालिकाको कोटबेदका वीरबहादुर बस्नेतले बताए । स्थानीय बजारमा एक सय ५० रुपैयाँ प्रतिलिटरमा पाइने गरेको तेलको मूल्य ५० रुपैयाँ बढाइएको छ । मूल्यवृद्धिका कारण चाडपर्वको किनमेल प्रभावित बनेको कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुरका गमबहादुर रावतले बताए । उनका अनुसार मूल्य बढेपछि ऋण काढेर दसैं खर्चको जोहो गर्नुपर्ने बाध्यता भएको छ ।
अहिले सदरमुकाम खलंगामा तरकारीको मूल्यसमेत ह्वात्तै बढेको छ । एक साताअघि ५० रुपैयाँ प्रतिकिलोमा पाइने टमाटरको मूल्य ८०, भाजीको साग ८०, भिन्डी ६० बाट बढेर ८० रुपैयाँ पुगेको छ । त्यस्तै सिमी ७० बाट बढेर ८५, बोडी ८०, प्रतिकिलो ३५ रुपैयाँमा पाइने आलु ५० रुपैयाँमा किन्नुपर्ने बाध्यता भएको स्थानीयले बताएका छन् । सामानको मूल्य बढाइए पनि गुणस्तरमा ध्यान नदिइएको उपभोक्ताको गुनासो छ ।