• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

निर्मलाको सामुहिक बलात्कार भएको ठहर, बविताको गतिविधि शंकास्पद


असोज २१, काठमाडौं ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले शंकाको सुई बबिता भनिने अनिता बमतर्फ सोझ्याएको छ । गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ- ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’

समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको छ ।

एकजनाबाट बलात्कार सम्भव नभएको तर्क गर्दै समितिको प्रतिवेदनमा यसो भनिएको छ–

‘दिउँसोको समय र मान्छेहरुको आवत–जावत भइरहने सडक नजिकै एउटा व्यक्तिबाट आकस्मिकरुपमा बाटोमै समाती जबरजस्ती करणी गर्न असम्भव देखिने । किनकी, दुई हातले समातेर लिँदा पनि बालिका चिच्याउनुपर्ने, लास फेला परेको उखुबारी नजिकै घरमा दुईवटा कुकुर रहेको र चक्रदेव बडू तथा निजका बाबुसमेत उक्त दिन घरमै भएको भन्ने भनाइ र पोष्ट मार्टम रिपोर्टमा बालिकाको तौल ४०/४५ केजी उल्लेख गरिएको, एकजनाले आकस्मिकरुपमा बलात्कार गर्न एकहातले बालिकालाई समाते पनि अर्को हातले मुख थुनेको भए बालिकाको सुरुवाल, पेन्टी र आफ्नो पाइन्ट, हाफ पाइन्ट पनि खोल्न गाह्रो हुनसक्ने भएकाले एकजनाले मात्र आकस्मिक बलात्कार गर्न सम्भावना कम देखिएको ।’

उखुबारीमा निर्मलाको बलात्कार र हत्या नभई बाहिरबाट हत्या गरेर त्यहाँ शव फालेको ठहरमा समिति पुगेको छ ।

निर्मलाका कितावहरु पानीमा नभिजेको ओभाना देखिएको हुनाले उनलाई अन्यत्रै हत्या गरेर ती कितावहरु घटनास्थानमा पछि राखिएको समितिको निश्कर्ष छ ।

निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरु ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

तर, बबिता (अनिता) बम र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरु उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरुको गतिविधि शंकास्पद रहेको समितिले निश्कर्ष निकालेको छ ।

समितिले आफ्नो सुझावमा यो घटनाबारे विशेष अनुसन्धान टोली बनाई अनुसन्धानको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको छ । साथै, प्रहरीहरुलाई समेत छानविनको दायरामा ल्याउन सुझाव दिइएको छ ।

कट्टु, पेन्टी, सुरुवाल सबै गायब !

जिप्रका कञ्चनपुरले तयार पारेको सनाखत मुचुल्कामा निर्मला पन्तको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खराने रंगको पेन्टी लगायत साइकल कापी प्रहरीले बरामत गरी लगेको उल्लेख भए पनि बरामत गरिएका उल्लेखित वस्तुहरु हाल नभेटिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी घटनास्थलबाट नीलो रंगको सेन्डो गञ्जी र खैरो रंगको जिन्स हाफपाइन्ट बरामद गरिएको कागजमा उल्लेख भएकोमा नमूना परीक्षणको पत्रलाई सच्याउन जिप्रकाले अर्को पत्र पठाएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सच्याइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी समितिले तयार पारेको प्रतिवेदनमा निर्मला पन्तको भजाइनल स्वावमा भेटिएको भनिएको वीर्यका विषयमा पनि संशय देखाएको छ । उक्त स्वाब परीक्षणलाई समितिले ‘चलाखीपूर्ण’ भनेको छ ।

प्रतिवेदनको २४/२५ पृष्ठमा लेखिएको छ, ‘महाकाली अञ्चल अस्पतालमा २३ साउनको शव परीक्षणको रिपोर्टमा मृतकको भेजिनामा वीर्यको जीवाणु नदेखिएको र कन्र्फम गर्न भजाइनल स्वाब नेशनल फरेन्सिकमा पठाउने भनिएको पत्रको व्यहोरा र मृतकलाई पानीमा घोप्टो पारेर प्रमाण लोप हुने गरी राखिएको अवस्थाले पनि उक्त कार्य चलाखीपूर्णरुपमा गरेको जस्तो देखिन्छ ।’

 

प्रकाशित मिति : २०७५ असोज २१ गते आइतवार