• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यान निवासी नेकपाका केन्द्रीय सदस्य असल क्षेत्रीको दशैंपछि मात्रै सर्वोच्चमा बहस हुने


असोज २४, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल क्षेत्री’लाई मकवानपुर फिर्ता लगिएको छ । बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसमा उपस्थित गराउन बुधबार सर्वोच्च अदालतमा ल्याइपुर्याइएको थियो । दशैं बिदा शुरु भइसकेकोले बहसै नगराई हाजिरीपछि फिर्ता पठाइएको हो ।

भैरहवा जिल्ला अदालतले असोज ४ गते रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी खडकालाई मकवानपुरको पालुङमा बसमा आगजनी गरेको अभियोगमा मकवानपुर प्रहरीको जिप्रका हिरासतमा असोज १० गतेदेखि राख्दै आएको छ । उनलाई बिनाकारण गैरकानूनी थुनामा राखेको भन्दै रिहाईको मागसहित दुर्गाप्रसाद जैसीले असोज १४ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

सोही रिटमाथिको बहसपछि भोलिपल्ट १५ गते न्यायाधीश चोलेन्द्र शमसेर बजराको एकल इजलासले बन्दी खडकालाई ३ दिनभित्र अर्थात असोज १८ गते बिहान १० बजे पक्राउ गर्नुको लिखित जवाफसहित अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, मकवानपुर प्रहरी, अदालतलगायत विपक्षीहरुको नाममा आदेश दिएको थियो ।

तर आदेशको उल्लंघन गर्दै १० दिनपछि मात्र बन्दी खडकालाई बुधबार सर्वोच्च ल्याइएको हो । दशैं बिदा शुरु भइसकेको जनाउँदै सर्वोच्चले आगामी कार्तिक ८ गते पेशीका उपस्थित गराउन पत्र जारी गरेपछि मकवानपुरै फिर्ता गराइएको हो । उनलाई ७ जनाको प्रहरी टोलीले ना १ झ ३१११ नम्बरको निलो रंगको महिन्द्र कम्पनीको पिकअप भ्यानमा राखेर फिर्ता लगिएको छ । साथै सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै सरकारको चौतर्फी चर्को आलोचना भएको छ । ईन्चार्ज खडकालाई चितवन, धादिङ हुँदै पृथ्वी राजमार्ग भएर आजै बिहान ९ बजे काठमाडौं ल्याइएको थियो ।

खडकालाई यही असोज ४ रुपन्देही जिल्ला अदालतले धरौटी लिई रिहा गर्न आदेश दिएपनि लगत्तै खड्कालाई प्रहरीले पसनः गिरफ्तार गरी असोज १० गते मकवानपुर पुर्याएको थियो । मकवानपुरमा प्रहरीले खडकालाई साउन २९ गते पालुङमा बसमा आगजनी गरेर ‘संगठित अपराध’ गरेको कसुरमा मुद्दा चलाइएको छ ।

पार्टी कामको सिलसिलामा सार्वजनिक यातायात चढेर काठमाडौं आउँदै गर्दा गत भदौ ५ गते बेलुका धादिङको नौबिसेबाट सादा पोशाकका डेढ दर्जन सीआईबी प्रहरीको टोलीले गिरफ्तार गरेको थियो । त्यसपछि ७ गते बुटवल लगिएको थियो । त्यहाँ ‘बम विष्फोट’को मुद्दा चलाइएको थियो ।

गिरफ्तारपछि झण्डै २४ घण्टा बेपत्ता बनाई चरम शारीरिक र मानसिक यातना दिई भोलिपल्ट ६ गते महानगरीय प्रहरी परिसर टेकुबाट सार्वजनिक गरिएको थियो । त्यसको भोलिपल्ट ७ गते बिहान आन्तरिक उडानबाट बसटवल लगिएको थियो । त्यहाँ उनलाई ‘बम विष्फोट’को अभियोगमा मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २४ गते बुधवार