असोज २५, कैलाली ।
कैलालीको अत्तरियामा मोटरसाइकल र बस ठक्कर खादा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका ६ का २८ वर्षका हेमन्त साउद र सोही ठाउँका २४ वर्षका विक्रम खड्काको मृत्यु भएको हो ।
उनीहरुलाई उपचारका लागि भारततर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिए ।
टीकापुरबाट अत्तरियातर्फ आउँदै गरेको कर्णाली यातायातको ना ५ ख ९०४९ को बस र अत्तरियाबाट पूर्वतर्फ जाँदै गरेको से ५ प ७५३६ नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीको नम्बर सात बाहिनी नजिकै ठोक्किदा मोटरसाइकलमा सवार दुबै जना घाइते भएका थिए ।
दुबैजनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको गाडीमा पदमा अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बरेली रेफर गरे पनि बरेली नपुग्दै बाटोमा नै उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।