• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

नक्कली नोटकाे बिगबिगी : यसरी चिन्न सकिन्छ नक्कली नोट ?


कार्तिक ४, काठमाडौं ।

दशैंको समयमा नयाँ नोटको प्रचलन बढी हुने गर्छ । यही क्रममा तपाईले एक हजार रुपैयाँका नयाँ नोटहरु बोक्नुभएको छ भने होस गर्नुहोला, त्यो नोट नक्कली पनि पर्न सक्छ । एक हजार रुपैयाँका साथै एक सय रुपैयाँको पनि नक्कली नोट बजारमा पुगेको हुन सक्ने प्रहरीले संकेत गरेको छ ।

नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन सकेको छैन । यस्तो स्थितिमा तपाईको गोजीसम्म आइपुगेको नोट पनि नक्कली पर्न सक्ने खतरा बढेको छ ।

दशैंका बेलामा नक्कली नोटको बिगबिगी भइरहेको सूचना आएपछि प्रहरीले कारवाही अघि बढाएको थियो । यही क्रममा साँच्चै नै नक्कली नोटहरु फेला परेका छन्, यसले नेपाली अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्न सक्ने देखएकिो छ । विगतमा नक्कली भारुको मात्रै चर्चा हुने गर्दथ्यो, अब नेपाली नोटसमेत नक्कली छाप्ने अपराध सुरु भएको पाइएको छ ।

अभियुक्तहरुको साथबाट बरामद गरिएका एक हजार रुपैयाँका नक्कली नोटहरु झट्ट हेर्दाखेरि ठ्याक्कै सक्कलीजस्तै देखिन्छन् ।

कसरी चिन्ने नक्कली नोट ?

नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो नहुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।

‘सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन्’ निरौलाले अनलाइनखबरसँग भने, ‘छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो ।’

निरौलाका अनुसार सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । तर, नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।

नक्कली नोट छाप्ने गिरोह काठमाण्डौँबाट पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली नोट छाप्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलन गरी नक्कली नोट छाप्ने ५ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्सा घर भई हाल कीर्तिपुर बस्दै आएका २७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ, गोरखा घर भई कीर्तिपुर बस्दै आएका २५ वर्षीय नारायण श्रेष्ठ, मकवानपुर घर भई मुलपानी बस्ने २५ वर्षीय साहिल थापा मगर, पर्सा घर भई जोरपाटी बस्दै आएका २८ वर्षीय राज श्रेष्ठ र कुमारी गाल बस्दै आएका कागेश्वरी काठमाडौँका २९ वर्षीय विकास दोचे छन् ।

प्रहरीले उनीहरुका साथबाट ३ लाख ७० हजार नक्कली १ हजार रुपैयाँको नोट बरामद गरेको छ । नक्कली नोट छाप्न प्रयोग गरेको प्रिन्टर १ थान, लालीगुराँस अङ्कित रबर छाप पनि बरामद गरिएको छ ।

हिजो राति कीर्तिपुर नगरपालिका मच्छे गाउँस्थित कृष्णबहादुर क्षेत्रीको घरबाट प्रहरीले यी सामग्री बरामद गरेको हो । प्रहरीका अनुसार क्षेत्रीको घरको पहिलो तलामा भाडामा लिएको २ वटा कोठामा नक्कली नोट छाप्ने गरिएको थियो ।

नेपाली नयाँ नोटमा अबिर लाग्दा ४० करोडको नोक्सान

दशैंको टीका लगाएपछि गच्छेअनुसार मान्यजनले दक्षिणा दिन्छन्, त्यो पनि रातो रंगले रंग्याएरै । यसका कारण भर्खरै छापिएका नोट जारी हुनासाथै काम नलाग्ने बन्ने गरेका छन् ।

दशैंमा टिका लगाउँदा र पुजाआजा गर्दा नोटमा अबिर, केसरीसहित रङहरु लाग्छन् । यस्ता नोट राष्ट्र बैंक पुगेपछि पुनः त्यसलाई बजारमा पठाइँदैन । र, त्यसको सट्टामा नयाँ नोट छापिन्छ । यसमा ठूलो लगानी लाग्छ ।

नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई वर्षमा ४० करोडको अतिरिक्त ब्ययभार थपिन्छ । यस्ता फोहर नोट खिचेर पुन छाप्नको लागि राज्यको वर्षमा करोडौं खर्चिनु परिरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।

दशैमा टीका लगाउने क्रममा नयाँ नोट दिने प्रचलन पुरानो हो । दक्षिणाका रुपमा दिने पैसालाई टिका लगाएकै हातले समातेर दिँदा त्यसमा रङ लाग्छ । यसरी रङ लागेको पैसालाई राष्ट्र बैंकले भने विभिन्न बैंकहरुको सहयोगमा खिचेर नष्ट गर्छ । र, फेरि नयाँ नोट छाप्छ ।

टीका लगाउने क्रममा नोटलाई खाममा राखेर दिँदा नोट सुरक्षित हुन सक्थ्यो । तर, पैसा देखाएर हातबाट हातमै दिने चलन ब्याप्त छ । कार्यकारी निर्देशक निरौला चिसो तथा फोहोर, रङ र तेल लागेको हातले नोटले नछुने हो र आकार अनुसार वालेट वा खाममा राखेर प्रयोग गर्ने हो भने नोटको आयू बढ्ने बताउँछन् ।

नोट मैलो र फोहोर हुने नै मूख्य सिजन नै दशैं हो । अन्य समयमा पनि मासु पसलेहरुबाट बढी नोट फोहोर हुने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

यसरी नोट फोहर भएका कारण राज्यको वर्षे्नि ४० करोड बराबरको अनावश्यक खर्च हुँदा पनि यसबारे खासै सोचिएको थिएन । यो पटक भने राष्ट्र बैंकले दशैंमा नयाा नोट बाँड्ने प्रचलन पनि कायमै राख्नेरनराख्नेबारे बहस सुरु गरेको छ ।

दशैका समयमा नोट रङ्गाउने बढ्दै गएपछि राष्ट्र बैंकले अबको दुईवर्षपछि दशैंमा नयाँ नोटको वितरण नै बन्द गर्ने योजना बनाएको छ । नयाँ नोटको सट्टामा सुकिला नोट बजारमा प्रचलनमा ल्याउने निरौला बताउँछन् ।

दशैका समयमा नयाँ नोट वितरण गर्नुभन्दा सुकिला नोटहरु नै प्रचलनमा राखेर त्यसको सुरक्षा र संरक्षणमा नागरिकलाई सचेत बनाउन आवश्यक देखिएको निरौलाले बताए । यो वर्षमात्रै साना ठूला गरी ४० अर्बको नयाँ नोट दशैंका बेला बजारमा ल्याइएको छ ।

नोट सुरक्षामा जनताले ध्यान दिए राज्यको करोडौं रकम बच्ने बैंकरहरु पनि बताउँछन् । दशैंमा राष्ट्र बैंकले प्रति सर्वसाधारण नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २ र २ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिँदै आएको छ ।

नयाँ नोटलाई दशैंमा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ४ गते आइतवार