जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना, छाप्ने मेसिन वीरगन्जबाट ल्याइयो


कार्तिक ६, काठमाडौं ।

प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ- महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित कारागारबाटै बनाएका थिए ।

जुन वेला उनी हातहतियार तथा खरखजाना मुद्दामा कैदसजाय भुक्तान गर्दै थिए । ११ महिनाको कैद सजाय भुक्तानपछि सीमाक्षेत्रमै रहेर उनले लागुऔषधको कारोबार गर्न थाले ।

यही क्रममा भेट भएका नयाँ बानेश्वरस्थित रत्नराज्यलक्ष्मी माविमा कक्षा १२ मा अध्ययनरत गोरखा लखन-८ का नारायण श्रेष्ठले उनको नक्कली नोट छाप्ने योजना साकार गरिदिएका थिए ।

इन्द्रबहादुरले वीरगन्जबाट ४० हजार रुपैयाँमा नोट छाप्ने मेसिन खरिद गरी काठमाडौं ल्याएका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक ६ गते मङ्गलवार