• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा भरपर्दो टेलिफोन नहुदाँ सेवाग्राहीलाई सास्ती


विप्लव महर्जन
कार्तिक ९, सल्यान ।
सल्यानका अधिकांश गाउँमा टेलिफोन सुविधा नहुँदा स्थानीयलाई सास्ती भएको छ । अधिकांश ठाउँमा मोबाइल नेटवर्कले काम नगर्ने भएकाले स्थानीय बासिन्दा लामो समयदेखि सास्ती भोग्न बाध्य छन । गाउँमा टेलिफोन नेटवर्कले काम नगर्दा स्थानीय बासिन्दालाई डाँडामा गएर फोन गर्नुपर्ने बाध्यता छ ।

जिल्लाका १० स्थानीय तहमध्ये छत्रेश्वरीको जयचौर, त्रिवेणी, दार्मा गाउँपालिका र बाग्चौर नगरपालिकाको बाफुखोलाका स्थानीयवासी लामो समयदेखि टेलिफोन सुविधाबाट वञ्चित छन । सबै ठाउँमा मोबाइल टावर जडान नहुँदा स्थानीयलाई आफन्तसँग सम्पर्क गर्न गाउँबाहिर जानुपर्ने बाध्यता भएको हो । टेलिफोन टावर राखिएका स्थानमा समेत विद्युत् सुविधा नहुँदा २४ सै घण्टा नेटवर्कले काम गर्दैन ।

टेलिकम सल्यानका निमित्त प्रमुख लोकमान ओलीले वर्षाको समयमा र बादल लागेका बेला जडान गरिएका सौर्य ऊर्जाले काम नगर्ने भएकाले समस्या भएको बताए । उनका अनुसार विद्युत् सुविधा नभएका स्थानमा सोलारमार्फत टावर सञ्चालन गरिएका छन ।

सौर्य ऊर्जामा पर्याप्त चार्ज नहुँदा समस्या भएको उनको भनाइ छ । टेलिकमले कपुरकोट, फलाबाङ, छायाँक्षेत्र, खलंगा, छाँपडाँडा, जयतपानीमा मोबाइल टावर जडान गरेको छ । त्यस्तै गुराँसे, मूलखोला, बाँमे, निगालचुला, कोटवेद, बडामालिका, शिवरथ, कालीमाटी र काल्चेका टावर भए पनि बेला बेलामा अवरुद्ध हुने गरेका छन् ।

स्थानीय तहको मागका आधारमा विभिन्न स्थानमा टावर जडान गरिरहेको उनले जानकारी दिए । नेपाल टेलिकमका अनुसार गत असारसम्म जिल्लाभरि ७ सय ८६ ल्यान्डलाइन टेलिफोन जडान गरिएको छ । टेलिकमका अनुसार जिल्लाको कुल २ लाख ५२ हजार जनसंख्यामध्ये दुई लाख जना टेलिफोनको पहुँचमा छन् ।

क्षेत्रीय कार्यालयले टावर जडानमा ढिलाइ गरेकाले जिल्लाका सबै स्थानमा टेलिफोन सेवा नपुगेको टेलिकमका कर्मचारी हिमराज ओलीले बताए । उनले जनशक्ति अभावका कारण जिल्ला कार्यालयले टावर मर्मत र जडानको काम गर्न नसकेको बताए । उनका अनुसार शाखा कार्यालयमा पाँचजनाको दरबन्दी भए पनि तीनमात्र कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक ९ गते शुक्रवार