• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

नेपालका एक सय पर्यटकीय स्थलमध्ये सल्यानकाे कुपिण्डे ताल पनि समेटियाे


लेकाली अनलाइन
कार्तिक १५, सल्यान ।

सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष का साथ नयाँ  १ सय पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरेको छ ।

पर्यटकिय गन्तव्यमा सल्यानको कुपिण्डे ताललार्इ पनि छानिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषित कार्यक्रममार्फत् नेपालको पर्यटन प्रवर्द्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न एक सय नयाँ गन्तव्यहरु सार्वजनिक गरेको हो ।

यस अघि मन्त्रालयले पर्यटन बोर्डसंग आफ्नो क्षेत्रमा रहेका गन्तव्यहरुको प्रचार प्रसार र प्रवर्द्धनका लागि तथ्याङ्क मागेको थियो ।  प्रदेश राजधानीबाट नजिकै पर्ने सुन्दर कुपिण्डेको प्रचारको अझै जरुरी छ ।

 

के छ त कुपिण्डे तालमा आकर्षण (लेकाली अनलाइनकाे सामाग्री पुन: प्रकाशित)

यो ताल आफैमा एक महत्वपुर्ण बिषेशता बोकेको ताल हो । यस तालले वर्षमा तीन पटकसम्म पानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती, सल्यानी संस्कृतिको जनजीवनले सम्मोहित कुपिण्डे तालले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।

तालको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका मानिस पनि पुग्ने गर्छन् । ग्रामिण धार्मिक पर्यटकीय दृष्टिकोणले मात्र महत्व मानिँदै आएको कुपिण्डे दहका बारेमा वैज्ञानिक अनुसन्धान भने आजसम्म हुन सकेको छैन ।

कुपिण्डे तालको वरपर स्वच्छ वातावरण, वरपर पहाडी हरियाली जगंल र बीचमा नीलो आकाश झैँ पश्चिमतिर फैलिएको सुन्दर मनै लोभ्याउने दृश्य भएको कुपिण्डे ताल, यहाँ सल्यानका मात्र नभई विभिन्न जिल्लाबाट कुपिण्डे दह हेर्न आउनेको संख्या आजभोली बढेको छ ।

डुङ्गा सयर गर्ने, मन्दीरमा पुजापाठ गर्न र मनोरम वातावरणमा पर्यटक रमाउने गर्दछन् । सदरमुकाम खंलगाबाट एक घण्टाको बस यात्रापछि कुपिण्डे दह पुग्न सकिन्छ । कुपिण्डे दह ७० मिटर गहिरो छ भन्ने गरिएपनि एकिन हुन सकेको छैन् ।

ताल २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कुपिण्डे तालको लम्बाइ ८ सय ३४ मिटर र चौडाइ ५ सय ३८ मिटर रहेको छ । कुपिण्डे ताल समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ ।

किम्बदन्ती अनुसार कुपिण्डे दह भएको स्थानमा ठूलो गाउँ थियो । गाउँमा एक दिन साधु भेषमा एकजना मानिस बासको खोजिमा गाउँमा आएछन् । धेरै घरमा बास माग्दा पनि उनले बास पाउन सकेनन् । निरासहँुदै एकजना वृद्धको घरमा उनी पुगेछन् । बासका लागि आपूm आएको कुरा उनले सुनाए । घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्नका लागि केह प्रबन्ध हुन नसक्ने बताए पनि साधु त्यही घरमा बस्ने अनुमति मागे । वृद्धको गरिबी थाहा पाएपछि भोलिपल्ट बिहान साधुले ती वृद्ध महिलालाई भनेछन् । म कैलुवराह हुँ । अरुलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिनभरमा डुबाइदिन्छु । अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै भनेछन, ‘त्यो पहाडसम्म जाऊ । हिँड्दा पछि फर्किएर नहेर्नु ।’ महिला पहाडतर्फ लागिन । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सबै गाउँ पानीले भरिएको दह भएछ ।

सल्यानको मुख्य पर्यटकीय सम्पदाको रूपमा रहेको कुपिण्डे ताल सदरमुकाम खंलगादेखि १४ किलो मिटर पश्चिममा पर्छ । चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिएको कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएकै हुन्छ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर पश्चिमतर्फ फैलिएको ताल साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १५ गते बिहिवार