• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

राज्य आतङ्क र क्रान्तिकारीको दायित्व


लेखक : असल क्षेत्री

जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । जनताले राज्यले अङ्गिकार गर्ने कदमको सचेततापूर्वक प्रतिक्रिया दिन्छन् । राज्यले जनतालाई न्याय, समानता, विकास र अधिकार दिन्छ भने त्यहाँका जनता खुशीसाथ राज्यलाई स्याबासी दिन्छन् र साथ दिन्छन् । तर राज्यले दमनकारी प्रतिशोधपूर्ण नीति अङ्गिकार गर्दछ, जनतामा जनविरोधी प्रतिक्रान्तिकारी नीतिले दबाउन खोज्छ, लाद्न खोज्छ भने जनताले जबर्जस्त त्यसको प्रतिरोध गर्दछन् । यो सर्वमान्य नियम हो । हरेक प्रतिक्रियावादी शासकहरु जनतामा दमनकारी, अत्याचारी नीति अङ्गिकार गर्दछन् । राज्यले श्रमिक जनतामा जव दमनकारी नीति अख्तियार गर्दछ । सचेत क्रान्तिकारी जनताले त्यसको डटेर सामना गर्दछन् । अन्ततः जनताबाट तिरस्कृत बन्दै पुरानो राज्यसत्ता समाप्तिको दिशामा जान्छ । त्यसको ठाउँ सचेत जनताको क्रान्तिकारी जनसत्ताले लिन्छ ।

नेपालको समाजवाद उन्मुख भनिएको कथित कम्युनिस्ट सरकारको कमद पनि ठ्याक्कै माथि भनिए झैँ बनेको छ । नेपाली सचेत जनताले विभिन्न समयमा राज्यका विरुद्ध बिद्रोह गरेका मात्रै छ्रैनन् की आफ्नै जनसत्ता स्थापनाको स्वरुप खडा गरेका छन् । तथापि नेतृत्वको धोकाधडी, गद्दारी र क्रान्तिकारी आन्दोलनको बिसर्जनले जनताले सँधै हार्ने गरेका छन् । यसको एउटा ज्वलन्त उदाहरण भनेको १० बर्षे जनयुद्ध हो । २०५२ सालमा सुरु भएको जनयुद्ध जनताको उत्साहपूर्ण सहभागितामा ८० प्रतिशत भूभाग र अधिकांस क्षेत्र जनताले कब्जामा लिएर आफ्नो सत्ता स्थापना गरेका थिए । पुरानो प्रतिक्रियावादी सत्ता विघटनको दिशामा गएको अन्तिम अवस्था थियो । तथापि पुनः उही पुरानै सत्ता पुनर्बहाली हुने स्थिति आयो । क्रान्तिकारी शक्ति तत्कालीन क्रान्तिकारी भनिएको नेतृत्वलाई दलाल, भ्रष्ट पुँजीवादी राज्य व्यवस्थाले घेरा हालेर किनिदियो र क्रान्तिकारी आन्दोलन विघटन, विसर्जन बन्न पुग्यो ।

आज नेपालमा क्रान्तिकारी आन्दोलनलाई सचेततापूर्वक विघटन गर्ने शक्ति र विगत लामो समयदेखि संसदीय अभ्यासमा व्यस्त आफूलाई कम्युनिस्ट भन्ने शक्ति बीचको एकताको सरकार बनेको छ, जसले आफूलाई कम्युनिस्ट सरकार तथा समाजवाद उन्मुख व्यवस्थाको रटान लगाइरहेका छन् । यिनको सत्ता प्रयोग र नीति समाजवाद उन्मुख व्यवस्था छैन कि सामाजिक दलाल पुँजीवादीबाट पनि विकसित भएर सामाजिक फासिवादी चरित्रको बन्न पुगेको देखिन्छ । एक पछि अर्काे गर्दै जनविरोधी, राष्ट्रघाती र दलालीकरण मुख्य बन्न गएको यिनको नीति, जनता, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नाङ्गिँदै र एक्लिँदै गएको छ । भेदभावपूर्ण र पूर्वाग्रही बनेको कम्युनिस्ट सरकारको नीतिले सच्चा कम्युनिस्ट र समाजवादको खिल्ली उडाइ रहेको छ ।

दश बर्षे जनयुद्धको र १९ दिने जनआन्दोलनको बलमा बनेको राज्य व्यवस्था जनतामा अत्याचारी शासन लादेर टिक्ने सपना देखिरहेको छ । जो ज्ञानेन्द्रले पहिले प्रयोग गरेका थिए, शेरबहादुर देउवाले प्रयोग गरेका थिए तर त्यो कुरा आज सम्भव छैन की ज्ञानेन्द्र, शेरबहादुर सफल बने ? अहिले के.पी. ओली नेतृत्वको सरकार विप्लव नेतृत्वको ने.क.पा. प्रति असहिस्नु बन्दै गएको देखिन्छ । ने.क.पा.का दोस्रो तहका नेता तथा पार्टी प्रवत्ता खड्कबहादुर विश्वकर्मा लगाएत देशभरबाट सयौं नेता कार्यकर्ता गिरप्तार गरि अमानवीय व्यवहार मानसिक तथा शारीरिक यातना दिई मानवअधिकारको पूर्ण उलङ्घन गरेको छ । यो अत्याचारी सरकारको रबैया देख्दा अहिले नेपाली जनताले फेरि ज्ञानेन्द्र सरकारको पूर्णबहाल भएको अनुभूति गरिरहेका छन् ।

आफूलाई लोकतन्त्रवादी, समाजवाद उन्मुख व्यवस्थाका हिमायती मान्ने मनुवाहरुले फरक राजनीतिक दृष्टिकोण राख्ने शक्तिलाई पूर्वाग्रही ढङ्गले निस्तेज पारी जनताको न्यायिक आन्दोलनलाई प्रतिबन्द लगाउन खोज्ने व्यवहारलाई स्थायी राजनीति मान्न सकिन्न । लोकतन्त्रमा फरक विचार राजनीतिको सम्मान गरिन्छ । कुनै पनि व्यक्ति तथा राजनैतिक शक्तिको फरक विचार र दृष्टिकोणमाथि दमनकारी पूर्वाग्रही बन्नु र राज्यको डन्डा प्रयोग गर्नु भनेको फासिवादी शैलीको पराकाष्टा हो । नेपाल कम्युनिस्ट पार्टीले विश्लेषण गरको सामाजिक दलाल पुँजीवाद अहिले आएर सामाजिक फासिवादीको बाटो पक्डेको छ । यो दुःखद कुरा हो तर क्रान्तिकारी पार्टी र आन्दोलनको चुनौतिमाथि खडा भएको सम्भावना पनि हो । राज्य सत्ता जति फासिस्ट बन्दै जान्छ क्रान्तिकारी परिवर्तनको सम्भावना पनि त्यति नै नजिक आउने गर्दछ । आज प्रतिक्रियावादी सत्ताले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ठूलो चुनौतिको रुपमा लिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शक्तिशाली हुनु भनेको अहिलेको राज्यव्यवस्था कमजोर हुनु र आफ्नो स्वर्ग समाप्त हुनु हो भन्ने जसरी प्रतिगामी शक्तिले बुझेको छ यो बुझाई सही नै छ तर क्रान्तिकारी आन्दोलनको निकाश दमन हो भन्ने कुरामा जसरी राज्य पुगेको छ यसले क्रान्तिकारी आन्दोलनलाई हैन दलाल संसदीय पुँजीवादी व्यवस्था कै विनास गर्छ भन्ने कुरामा क्रान्तिकारीहरु स्पष्ट हुन जरुरी छ । दमन, हत्या, हिंसा र गिरफ्तारी जस्ता अपराधिक गतिविधिले क्रान्तिकारी आन्दोलन र शक्तिलाई कमजोर हैन झन स्पातिलो बनाउँछ र सत्यको बाटो रोजी दलाल, तस्करहरुका विरुद्ध जाइ लाग्न शहास पैदा गर्दछ ।

लक्ष्य र प्रतिवद्धता प्रति रापिलो, तापिलो र निष्ठावान बढाउने गर्दछ । यो कुरा प्रतिक्रान्तिकारी राज्यसत्ताका मालिकहरुले समयमै बुझ्न जरुरी छ । नेपाल कम्युनिस्ट पार्टी आमूल परिवर्तन गर्न एकीकृत जनक्रान्तिको बिचारबाट निर्देशित क्रान्तिकारी शक्ति हो । क्रान्तिकारी शक्तिले राज्यले अपनाउने देश जनताप्रति गरिने दमनकारी नीतिको सचेततापूर्वक प्रतिरोध गर्न जरुरी हुन्छ । राज्यले जनतामा गर्ने दमनलाई क्रान्तिकारी शक्तिको सचेत पहलमा आम श्रमिक जनताको शक्तिमा निर्भर रही राष्ट्रवादी, वामपन्थी र क्रान्तिकारी शक्तिलाई एकतावद्ध गर्दै राज्यसक्ता विरुद्धको पहलकदमीलाई नयाँ उचाईमा उठाउनु अहिलेको ज्वलन्त आवश्यकता छ र यसको पहल क्रान्तिकारी शक्तिले लिन अनिवार्य देखिन्छ । राज्यले क्रान्तिकारीहरुलाई दमन, हत्या, अपहरण र गिरफ्तार गरि क्षत विच्छेत गराई कमजोर बनाउने नीति अख्तियार गरेको देखिन्छ ।

क्रान्तिकारी शक्तिले यसका विरुद्ध आम जनतालाई गोलबन्द गरि सङ्गठित, केन्द्रिकृत र प्रतिरोध गर्ने नीतिलाई निरन्तरता दिई राख्नु पर्दछ । सङ्गठनात्मक पद्धति र प्रतिरोधका अगाडि जस्तोसुकै फासिस्ट र तानाशाही राज्य र शासकहरु परास्त हुन्छन । यदि नेपालमा सचेत क्रान्तिकारीको पहलकदमीमा पुरानो संसदीय राज्य व्यवस्थाका विरुद्ध जनतालाई सङ्गठनात्मक रुपमा लिएर प्रतिरोध गर्न सकियो भने असम्भव भन्ने केही छैन जो सम्भव छ । क्रान्तिकारी तथा परिवर्तन चाहने न्यायप्रेमी जनताको अदम्य साहसले यो जनविरोधी, परिवर्तन विरोधी राज्य व्यवस्था समाप्त सँगै यसको अन्त्यष्टि पनि सँगसँगै गरिने छ र क्रान्तिकारी जनताको विजय हुनेछ ।

लेखकः नेकपा केन्द्रिय सदस्य तथा सल्यान इन्चार्ज चन्द्र खड्का (असल क्षेत्री)

प्रकाशित मिती २०७५ कार्तिक १५ गते

प्रकाशित मिति : २०७५ कार्तिक १५ गते बिहिवार