• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

देउसी–भैलोलाई क्रान्तिकारी कलाकारले अभियानमा यसरी परिणत गरे


कार्तिक २७, काठमाडौं ।

एक हुल युवा र युवती फौजी ड्रेसमा बसबाट ओर्लेर बजारको चोकमा फुत्त आइपुग्छन् । युवकका हातमा खुकुरी समेत हुन्छ । शीरमा रातो तारा अंकित टोपी अनि कलाकारले जोशिलो स्वरमा भट्याउन थाल्छन् –

चमचम गर्ने खुकुरी शान लगाउने बेला भो
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो‘…

एकदशक अघिको माओवादी सशस्त्र विद्रोहको झल्को दिने गरी यस्तै शब्दहरु समेटिएका गीत गुन्जन थालेपछि चोकका यत्रतत्र छरिएका मान्छेहरु एकाएक गीत सुन्न र नाच हेर्न झुम्मिन्छन् । कलाकारले गीत अघि बढाउंदै थप्छन्–

फेरि जंघार तर्ने बेला भो, बारुदसँग खेल्ने बेला भो
फेरि बन्दुक बोक्ने बेला भो, दुश्मनसँग भिड्ने बेला भो..’ यस्तैयस्तै क्रान्तिकारी गीत गञ्जयमान हुन्छ ।

कतै मौलिक देउसी भैलो त कतै रेकर्डेड फिल्मी गीत र नृत्यले शहर बजार र गाउँसम्म तिहारको रमझम बढाइरहेका बेला रुपन्देहीमा जनयुद्धको झल्को दिने यस्तै क्रान्तिकारी शब्दले भरिएका जनवादी भैलोले धेरैको ध्यान खिचेको दृष्य आजै जीवितै छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गतको क्षितिज सांस्कृतिक परिवार रुपन्देहीले जिल्लाका विभिन्न स्थानमाहरुमा सञ्चालन गरेको देउसी भैलाले अरुले भन्दा बेग्लै स्वाद दर्शक स्रोतालाई पस्केको थियो । प्रहरी प्रशासनको डरले अरु बेला राज्यसत्ताविरुद्ध यसरी खुलेआम सांस्कृतिक कार्यक्रम गर्न नपाएको पार्टीले तिहारको मौकालाई सदुपयोग गर्दै सांस्कृतिक कार्यक्रमसँगै आफ्नो राजनीतिक विचार समेत जनतामाभ्m प्रवाह गरिरहेको छ । जनवादी भैलोमा पस्किने गीतहरुले फेरि अर्को अन्तिम युद्ध लड्न जनतालाई आव्हान गरिरहेको हुन्छ । भन्छन्–

आउ साथी मृत्युलाई जित्ने आँट गरौं
जनताको बैरीलाई मिच्ने आँट गरौं ।
उठ हे क्रान्ति वीरहरु अन्तिम युद्ध लड्नुछ
चमचम गर्ने खुकुरी शान लगाउने बेला भो…

क्षितिज परिवारको जनवादी देउसी–भैलोमा थारु, भोजपुरी, मगरहरुको सालैजो, सोरठी, कौडा टप्पा, तामाङ सेलो आदि जनजातिका संस्कृतिमा आधारित गीत र नृत्य पनि कलाकारले पस्केका छन् । भने शहीदप्रति समर्पित गीतसँगै, वर्तमान केपी ओली नेतृत्वको ‘कम्युनिष्ट’ सरकारविरुद्ध पनि कलाकारले उत्तिकै सशक्त ब्यंग्य प्रहार गरेका छन् ।

बढ्दो महंगी, भ्रष्टाचार, बलात्कार र हत्या–हिंसा, वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमण, बेरोजगारी, युवा शक्तिको विदेश पलायन, पश्चिमा छाडा संस्कृतिले नेपाली मौलिक संस्कृतिमाथि गरेको अतिक्रमण र जनजीविका जस्ता विषयमा कलाकारले मार्मिक गीत र नृत्य प्रस्तुत गर्दा उपस्थित सबैले खुलेर साथ दिएका थिए ।

जनकलाकारहरुको बेजोड जीवन्त प्रस्तुतिले माहोल यस्तो बनेको थियो कि गीत र नृत्य सुनेर हेरेर बाटोमा हिंड्दै गरेकाहरु पनि एकछिन टक्क रोकिन्छन्, अनि सक्दो आर्थिक सहयोग गरेर हिंडछन् । शुभकामना दिँदै निरन्तरता दिन आग्रह गर्छन् । मुलुकमा कम्युनिष्ट भनिनेहरुको दुईतिहाईको सरकार भएपनि जनताका आधारभूत समस्या जस्ताको तस्तै रहेका, महंगी, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारका घटना बढेको, नेपाली भूमि अतिक्रमण हुदै ६० हजार हेक्टरभन्दा बढी गुमेको, व्यापार घाटा चुलिएको, सरकारले बलात्कारी, तस्कर, काला बजारिया र सिन्डिकेटलाई संरक्षण गरिरहेको जस्ता कारणले जनतालाई यसबारे बुझाउन र एकीकृत जनक्रान्तिका लागि तयार रहन आव्हान गर्न जनवादी देउसी–भैलोलाई माध्यम बनाइएको अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनीका संयोजक खोमा तरामु मगरले बताए ।

हामीलाई अरु बेला कार्यक्रम गर्दा सरकारले दमन र हस्तक्षेप गर्ने भएकाले तिहारको अवसर पारेर जनतामाझ सशक्त रुपमा आफ्नो पार्टीका कुरा राख्ने मौकाको रुपमा उपयोग गरिएको संयोजक मगरको भनाई छ । जनवादी देउसी–भैलोमा आत्मा पौडेल, एन्जल जीएम, बिहानी मगर, प्रकाश घिमिरे, आरजु राना, सन्देश थापालगायतका डेढ दर्जन कलाकार रहेको क्षितिज सांस्कृतिक परिवारका संयोजक संयोगले जानकारी दिए ।

कार्तिक २१ गते रुद्रपुरबाट शुरु भई पाँच दिनसम्म चलेको उक्त कार्यक्रममा स्थानीयबाट सहयोग, स्नेह र समर्थन पाएको र यसबाट करिब १० लाख ५२ हजार २ सय स्वेच्छिक आर्थिक सहयोग जुटेको महासंघका संयोजक मगरले जानकारी दिए । महासंघले रुद्रपुरको हरैया बजार, गरगरे, सालझण्डी बजार, झिमझिमे बजार, बाँसगढी, रामापुर कलोनी बजार, मुर्गिया चोक, नयाँगाउँका विभिन्न स्थान, जितगढी किल्ला, बुटवलको मैनाबगर, चन्द्रनगर, सुख्खानगर, तिनकुने चोक, शंकरनगर, शान्ति चोक, देवदहको खैरेनी बजारलगायत झण्डै दुई दर्जन स्थानहरुमा जनवादी देउसी–भैलो तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।

देवदह नगरपालिकामा रहेको खैरेनी बजारमा नगरपालिकाले साउण्ड सिस्टमसहित देउसी–भैलो खेल्न रोक लगाएको थियो । तैपनि स्थानीयको साथ र नेकपाको पहलकदमीले जनताको सहभागितामै कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेकपा रुपन्देहीका इन्चार्ज संगमले पार्टीले राज्यसत्तालाई नै अस्वीकार गरेको भन्दै कसैले भनेर आफ्नो पार्टीको कुनैपनि कार्यक्रम नरोकिने बताए । सेक्रेटरी अमरले जनवादी देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रमको माध्यमद्धारा पचासौं हजार जनतासँग प्रत्यक्ष भेटघाट तथा पार्टीको राजनीतिक सन्देश समाजसम्म पुर्याएको बताए ।

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार