• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सरकारले फासीवादी शासन चलाउन खोजेको भन्दै अधिकारकर्मीहरुकाे विरोध


कार्तिक ३०, झापा।

अधिकारकर्मी, कानून व्यवसायी तथा संचारकर्मी, व्यवसायीहरुले सरकारले स्वतन्त्र प्रेसलाई खुम्च्याएर फासीवादी शासन चलाउन खोजेको भन्दै विरोध गरेका छन् । मानवअधिकार उल्लंघन र गैरकानूनी घटना सरकारबाटै भइरहेको भन्दै उनीहरुले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले शुक्रबार झापाको दमकमा आयोजना गरेको ‘मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्तन्त्रतता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले मानवअधिकार र स्वतन्त्र प्रेसको विश्व मान्यतालाई कुल्चेर जनविरोधी र फासीवादी शासन चलाउन उद्यत रहेको बताए ।

संगठनको केन्द्रीय समितिको आयोजना भएको कार्यक्रममा कानूनी व्यवसायी अधिवक्ता राजन ढुंगानाले सरकार कम्युनिस्ट छ भन्न लाज मान्नुपर्ने स्थिति सरकारमा बस्ने मान्छेहरुले निर्माण गरेको टिप्पणी गर्दै भने ‘यस्तै रहने हो भने मुलुकमा छिट्टै एन्टी कम्युनिस्टको दिन आउनेवाला छ ।’

नेपाल पत्रकार महासंघका झापाका पूर्वाअध्यक्ष मोहनकाजीले सरकारले स्वतन्त्र प्रेसको विश्व मान्यतालाई कुल्चेर सभ्य र समृद्धि समाज निर्माणको अवसरलाई गुमाउँदै गएको बताए । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी झापाका सेक्रेटरी सौगातले वर्तमान सरकार स्वेच्छाचारी र फासीवादी भएको भन्दै देशीविदेशी दलालहरुको कब्जामा सरकार फसेको बताए ।

फासीवादी सरकारकै कारण देशमा व्याप्त मात्रामा भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, महंगी राष्ट्रघातले तीव्रता पाइरहेको बताउँदै सेक्रेटरी सौगातले भने ‘त्यसैकारण नेकपाले जनताको आफ्नै सत्ता संचालनको यात्रामा लागिरहेको छ । जनताको सत्ता भनेकै वैज्ञानिक समाजवादी व्यवस्था हो । यसमा सबैले निसंकोच साथ दिनु्पर्छ ।’ दलाल संसदीय व्यवस्थामा नागरिकले सधैं मौलिक अधिकारबाट वन्चित हुनुपर्ने भएकोले यसलाई भत्काउन मिडियाले सशक्त भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, बुद्धिजीवि, संचारकर्मी, अधिकारकर्मी, महिला तथा सुरक्षा निकायका अधिकारी, नेकपाका झापाका सचिव सुमनसिङ पौडेल लगाएतको सहभागिता रहेको छ । संगठनले हिजो मात्र मोरङको विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । क्रान्तिकारी पत्रकार संगठन, नेपाल नेकपा निकट जनवर्गीय संगठन हो ।

गत असोज ४ गतेयता संगठनले सुदूरपश्चिमको कञ्चनपुरदेखि पूर्वको ताप्लेजुङसम्म करिब डेढ दर्जन स्थानमा अन्तरक्रिया गरिसकेको छ । आउने दिनमा यसलाई अन्यत्र स्थानमा पनि गर्दै जाने जनाइएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ३० गते शुक्रवार