• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाङमा एक महिनाकाे सुत्केरी महिलालार्इ श्रीमानले घर निकाला गरिदिए


मंसिर ४, दाङ ।

दाङ नारायणपुरकी सुत्केरी महिलालाई घरपरिवारले निकालेको छ । एक महिनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० नारायणपुर झारबैराकी २३ वर्षिया दुर्गा वलीलाई उनका श्रीमान र परिवारले घर निकाला गरेका हुन् ।

असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताइन् । हेमराजले तीन वर्ष पहिले मागि विवाह गरेका दुर्गालाई विवाह गरेकै आठ महिनाबाटै यातना दिन सुरु गरेको बताइन‍् । उनले रुदै भनिन्-“तीन वर्ष पहिले मागेर बिहे भएको हो । बिहे गरेको ८ महिनाबाटै श्रीमानले पिट्न सुरु गर्नुभयो, गर्भवति भएको समयमा पनि पिट्ने यातना दिने गरिरहनु हुन्थ्यो ।”

एक महिनाको सुत्केरीलाई घर निकाला गरेर हेमराज वली र उनको परिवारले उल्टो सम्बन्ध बिच्छेदका लागि दाङ देउखुरी जिल्ला अदालतमा मुद्धा दायर गरेको पीडित दुर्गाले बताइन् । सत्केरी अवस्थामा स्याहार सुसार पाउने बेलामा दुर्गाले न्याय खोज्दै न्यायीक निकायहरुमा पुग्नुपर्ने बाध्यता छ । रोल्पा त्रिवेणी गाउँपालिका जुगार माइत भएकी दुर्गालाई अहिले माइती पक्षले सहयोग गर्दै आएको छ ।

“कहिले कस्को कहिले कस्को घरमा बसेर न्यायका लागि हार गुहार गर्दै आएका छौं । तर, हाम्रो कुरा सुनिदिने कोही भएन”- पीडित दुर्गाकी आमा गोमती केसीले गुनासो गरिन् । केहि दिन पहिले न्याय माग्दै दुर्गाले जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएकी थिइन् । तर, प्रहरीले हेमराजलाई सामान्य सम्झाउनु बाहेक केहि गरेन । जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्धामा प्रहरीले केहि गर्न नमिल्ने भन्दै प्रहरीले रित्तो हात फकाई दिएको पीडित दुर्गाले बताइन् ।

मंगलबार घोराहीमा पत्रकारहरुसँग कुरा गर्दै पीडित दुर्गाले आफूलाई न्याय दिलाई दिन आग्रह गरिन् । आफूमाथि पटक–पटक हुँदै आएको कुटपीट, हिंसा गर्ने र लाञ्छना लगाउने श्रीमान हेमराजलाई कारबाहीको माग गर्दै आफ्नो सुरक्षित रुपमा बस्न पाउने वातावरण मिलाई दिन जिल्लास्थित सम्पूर्ण मानवअधिकार, महिला अधिकारकर्मी, सामाजिक संघसंस्था, प्रहरी, प्रशासन र पत्रकारहरुलाई आग्रह गरिन‍् । श्राेत : दाङ खबर

प्रकाशित मिति : २०७५ मङ्सिर ४ गते मङ्गलवार