• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

केन्द्र सरकारबाट सल्यानमा ४ कराेडकाे बजेट विनियाेजन, जिल्लाभरी यसरी बाँडिदैछ (ठाउँ सहित)


तिलकराज ओली
मंसिर ५, सल्यान ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत २०७५\०७६ का लागि सल्यानका योजनाहरु छनोट गरि केन्द्र सरकारबाट बजेट विनियोजन गरिएको छ । कुल ४ करोड बजेट रहेको उक्त कार्यक्रममार्फत सबैभन्दा बढी कपुरकोट, सिद्धकुमाख र कुमाख गाउँपालिका अन्तरगतका विभिन्न सडकहरुमा छुट्याइएकाे छ ।

कपुरकाेट गाउँपालिकाका विभिन्न सडकहरुमा ५० लाख रकम विनियाेजन गरिएकाे छ । जसअन्तरगत कपुरकोटकाे झुल्नेटा बाट सिमलकुना हुँदै प्रदेश नम्बर ५ को दाङको हलवार जोड्ने सडक निर्माणका लागि ३० लाख छुट्याइएकाे छ ।

सिद्ध कुमाखकाे चाख्लिघाट देखि कुमाख गाउँपालिकाका अन्तरगतका विभिन्न सडक स्तरबृद्धि र नयाँ बिस्तारका लागि पनि ५० लाख रकम विनियोजन गरिएको छ । बागचौर नगरपालिकाको लामाडाँडा – पुखात हुँदै दार्मा गाउँपालिकाको केन्द्र फारुलाचौर जोड्ने मोटरबाटो निर्माणका लागि २० लाख रकम विनियाेजन गरिएकाे छ ।

त्यसैगरी शारदा नगरपालिकाको रामेखोला हुँदै बनगाड कुपिण्डे नगरपालिकाको बाटो निर्माणका लागि २० लाख, बागचौर नगरपालिका ४ पेदीखोलामा रहेको सरस्वति माविको भवनका साथै खेल मैदान निर्माणका लागि २० लाख, छत्रेश्वरी १ दमाचौर सिंदुरे खानेपानी आयोजना निर्माणका लागि २० लाख, बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोला–जामुने – बामेको बाँझकोटबाट औलवेशी जोड्ने सडकका लागि १५ लाख, कालिमाटी गाउँपालिका ४ काल्चेबाट बनगाड कुपिण्डे नगरपालिकाको निगालचुला जोड्ने सड्कका लागि १५ लाख रकम विनियोजन गरिएको छ ।

त्यस्तै जिमाली–मर्म परिकाँडाबाट मुसिकोट नेटा जोड्ने सडक निर्माणका लागि १५ लाख, बनगाड कुपिण्डे नगरपालिकाको घाँजरीपिपलको मैदु हुँदै रामेखोला सडको स्तरबृद्धिका लागि १५ लाख, कुमाख गाउँपालिका ५ नेटाबाट रुकुम खोलागाउँ हुँदै चौरजहारी जोड्ने मोटरबाटो निर्माणका लागि १० लाख विनियोजन गरिएको छ ।

त्यसैगरी छत्रेश्वरी गाउँपालिका अन्तरगत मावि पाखापानीको भवन निर्माण १५ लाख र छत्रेश्वरीकै झिम्पेको लक्ष्मी मावि जयचौर निर्माणका लागि १५ लाख, बागचौर नगरपालिका ७ गाँराकोटको निमावि भवन निर्माणको लागि १० लाख रकम विनियोजन गरिएको छ । सिद्ध कुमाख गाउँपालिका १बाँझकाँडा काजिका बगर सिमलटारी बाँध सिचाई कुलो निर्माणको लागि १० रकम विनियोजन गरिएको छ ।

त्यसैगरी त्रिवेणी गाउँपालिकाको रामबजार खानेपानी आयोजनाको लागि १५ लाख रकम बिनियोजन गरिएको छ । बजेटमा भौतिक पूर्वाधार आयोजना विकासका लागि सबैभन्दा बढी सडक निर्माणमा २ करोड ५० लाख, सिचाई तथा खानेपानीतर्फ ९० लाख  बजेट विनियोजन गरिएको छ । शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि ६० लाख विनियोजन गरिएको छ ।

सल्यान जिल्ला भरका स्थानीय स्तरबाट थुप्रै योजनाहरु माग भए पनि सीमित बजेटका कारण सबैलाई सम्बोधन गर्न नसकिएको सल्यानका प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टेकबहादुर बस्नेतले बताए । उनले भने-“खासगरी यसपटकको कार्यक्रममा नसमेटिएका थुप्रै योजनाहरुलाई प्राथमिकतामा राखेर अन्य स्रोतहरुको खोजी गर्ने र सकेसम्म छुटेका योजनाहरुको पनि क्रमिक रुपमा सम्बोधन गर्नेछु ।”

प्रकाशित मिति : २०७५ मङ्सिर ५ गते बुधवार