• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

कपुरकोट गाउँपालिका अध्यक्ष भन्छन्– “योजनाका रकममा र्याल नचुहाउनुहोस्”


शंकर के सी
मंसिर १०, सल्यान ।
योजना सञ्चालन गर्दा विनियोजन भएको रकममा ¥याल नचुहाउन सल्यान कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उपभोक्ता समितिका पदाधिकारिलाई आग्रह गरेका छन् । आइतबारदेखि शुरु भएको योजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा उनले योजनामा ¥याल चुहाउने बानीले गाउँको विकास कहिलै पनि नहुने बताएका हुन् ।

वडा नम्बर ३ मा गठन भएका योजनाका मुख्य पदाधिकारिहरूलाई कपुरकोटमा निर्देशन गर्दै अध्यक्ष सेनले भने – “तपाइको गाउँठाउँको विकासका लागि उपभोक्ताको पनि लगानी हुनुपर्छ । योजनामा कुनै तलमाथी नहोस् काम प्रभावकारि भएन भने रकम भुक्तानी पनि हुँदैन र वेइमानी गर्नेलाई कारबाही समेत हुन्छ ।”

योजना सञ्चालनको क्रममा गाउँपालिकाका कुनै पनि कर्मचारीले रकम मागेमा वा रकम भुक्तानीमा ढिलासुस्ती गरेमा आफूलाई जानकारी गराउन सेनले आग्रह गरे । योजना सम्पन्न भएपछि त्यसको संरक्षण, उपयोगमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक तिला बुढा मगरले गएका वर्ष धेरै योजनाहरू सन्तोषजनक तरिकाले सम्पन्न नभएको जनाउँदै यो वर्ष त्यसो नहुने बताइन् ।
उनले भनिन्– “म सबै योजनाको अनुगमनमा आउने छु । अनुगमनमा जे देखिन्छ त्यहि रिपोर्ट गाउँपालिका समक्ष गर्नेछु । त्यसैले इमान्दारिताका साथ गुणस्तरिय काम गर्नुहोला ।”

वडा नम्बर ३ का वडाध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा अभिमुखिकरण गोष्ठीमा प्रमुख प्रशसकीय अधिकृत सुवाश रिजाल, सूचना अधिकारि जीवराज केसीले उपभोक्ता समितीको काम, कर्तव्य र अधिकार, सम्झौता गर्दा आवश्यक पर्ने कागजात लगायतका विषयमा अभिमुखिकरण गरेका थिए ।

चालू आर्थीक वर्षमा कपुरकोट ३ मा १४ वटा योजना सञ्चालनमा रहेको वडाध्यक्ष मिन बहादुर सेनले जनाए ।अन्य वडामा पनि उपभोक्ता समितिका पदाधिकारिहरूलाई अभिमुखिकरण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार