• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा पक्राउ परेका विप्लव नेकपाका नेतालाई तत्काल रिहाईको माग गर्दै कडा विज्ञप्ती


लेकाली अनलाइन
मंसिर १२, सल्यान ।
मंगलबार पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सचिवालय सदस्य टोप बहादुर खत्रीलाई विनासर्त तत्काल रिहाई गर्न सो पार्टीले कडा चेतावनी दिएको छ ।

पार्टीको बैठकमा सहभागी भएका नेता खत्रीलाई श्रीनगर बैठक स्थलबाटै पक्राउ गरिएको भन्दै नेकपा सल्यानले रिहाई गर्न माग गरेको हो । बुधबार पार्टीका जिल्ला सेक्रेटरी लोक्पालले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै विना कारण झुटा मुद्दा बनाएर पक्राउ गरेको भन्दै सरकारको बिरोध गरेका छन् ।

राजनितीक मुद्दालाई व्यक्तिगत झुटा मुद्दा बनाएर गिरफ्तारी गरेको भन्दै उनल अहिलेको सरकारले आफ्नो खुट्टामा आफै बन्चरो हानेको बताएका छन् । विज्ञप्तीमा भनिएको छ– “अहिलेका कथित जनप्रतिनिधीहरुले जनतामाथि करको भार थुपारेर आफु महङ्गो गाडीमा गुडने र मोजमस्तीमा व्यस्त हुने गरेका छन् । अहिलेको यो व्यवस्थालाई अन्त्य गरेर वैज्ञानीक समाजवाद ल्याउन हाम्रो पार्टी संघर्षमा रहेको बेला देशभरी हाम्रा नेता–कार्यकर्तालाई कथित सरकारले झुटा मुद्दा लगाउदै दमन र गिरफ्तारी गरिरहेको छ ।”

कम्युनिस्टको नारा दिएर बनेको सरकारले महङ्गी, कालोबजारी, भ्रष्ट्राचारी दिनानु दिन वृद्धि गरेर देशलाई गरिबी तिर धकेलेको भन्दै आफ्नो पार्टीले खबरदारी गरिरहेको विज्ञप्तीमा बताइएको छ ।
साथै गिरफ्तार परेका नेता खत्रीलाई तत्काल रिहाई नगरे नराम्रो आउने र त्यसको जिम्मा सम्बन्धीत सरोकारवालाले लिनुपर्ने सो पार्टीले विज्ञप्तीमा भनेको छ ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले दार्मा गाउँपालिकाको टेन्डर गोलपत्र च्यातेको अभियोगमा पक्राउ गरेको बताएका छन् । उनले व्यक्तिगत मुद्दा भएकाले अहिले छानविन भईरहेको बताए ।

हेर्नुहोस् विज्ञप्ती

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार