• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

निर्मला पन्तको न्याय माग्दै पोलमा टाँसिएका पोस्टर प्रहरीले च्यात्यो, १२ जना पक्राउ


लेकाली अनलाइन
मंसिर १४, काठमाण्डौँ ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको लागि न्याय माग गर्दै सरकारलाइ दवाब दिन पोस्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटना घटेको करिव चार महिना बित्दा समेत अपराधी पत्ता लगाउन नसक्दा चारैतिर आक्रोश बढ्दो छ ।यस्तैमा स्तन्त्र युवाहरुको समूह ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मलाको तस्बिर सहितको पोस्टर टाँसेर प्रदर्शन गर्ने क्रममा पक्राउ परेका हुन् ।

न्याय माग्दै माइतीघरमा प्रदर्शन गरिरहँदा सामाजिक अभियन्ता प्रितम सुवेदी,भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि, गत सोमबार नयाँ युगको थालनी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अंकित पोस्टर काठमाडौँका अधिकांश सार्वजनिक स्थलमा टाँसिएको थियो ।

त्यसैको जवाफ स्वरुप युवाहरुले निर्मलाको तस्बिर सहितको पोस्टर टाँसेका थिए र त्यसैलाई निरन्तरता दिने क्रममा आज उनीहरू पक्राउ परेका हुन् । अभियन्ता प्रितमले न्यायको लागि आवाज उठाउँदा गरिएको धरपकडले आफुहरु बिचलित नहुने र प्रदर्शन जारी राख्ने चेतावनी समेत दिए ।

यसैबिच निर्मला पन्तको हत्यारा पत्ता गलाउन नसकेको भन्दै टाँसिएका पोष्टरलाई प्रहरीले च्यातेको छ । प्रधानमन्त्री ओलीको पोष्टर टाँसेकै राति ‘सरकार भेटियो तर न्याय भेटिएन’ भन्दै राजधानीका पोलहरुमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका तस्विर टाँसेको थियो । निर्मला पन्तका ति पोष्टरहरु प्रहरीले बिधुत पोलबाट हटाउन थालेको हो ।

निर्मला पन्तका परिवारले न्याय नपाएपछि अन्तराष्ट्रिय समुदायले पनि दवाव बढाएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगले निर्मला पन्तका बिषयमा सरकारले शंकास्पद गतिविधि गरिरहेको बताएको छ । यसबाट निर्मला पन्तको घटना अब अन्तराष्ट्रियकरण हुन पुगेको छ ।
निर्मला पन्तका बाबु आमाले पनि धर्नाबाट निरन्तर सरकारलाई दवाव दिइरहेका छन् ।

कञ्चनपुरदेखि काठमाडौंसम्म सरकारमाथी दवाव बढिरहेको छ । तरपनि निर्मला पन्त प्रकरणमा सरकारले गतिलो जवाफ दिन सकेको छैन । सरकारलाई निर्मला पन्तका बलात्कारी र हत्यारालाई सार्वजनिक गर्न बाध्य पार्ने उदेश्यले सडकका पोलमा पोष्टर टाँसिएको हो ।

प्रहरीले ति पोष्टरहरु पोलबाट अहिले हटाइरहेको छ । सरकारको निर्देशनमा हटाएको हो वा प्रहरी आफैले हटाउन लागेको हो त्यो भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०७५ मङ्सिर १४ गते शुक्रवार