• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यान आएर काँग्रेस नेतृ संग्रौलाले गृहमन्त्री थापाकोे राजिनामा मागिन्


लेकाली अनलाइन
मंसिर १८, सल्यान ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा नेपाल महिला संघकी पुर्व अध्यक्ष डिला संग्रौलाले गृहमन्त्री राम बहादुर थापा बादलको राजिनामा माग गरेकी छन् । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेका भन्दै मंगलबार सल्यान आएर उनले राजिनामा माग गरेकी हुन् ।

प्रेस युनियन सल्यानले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कञ्चनपुरकी निर्मला पन्तको बलत्कार पछि हत्या भएको महिनौँ दिन वित्दा पनि हत्यारा पत्ता नलाग्नुमा सरकारकै संलग्नता भएको आरोप लगाएकी छन् । उनले भनिन्– “निर्मला पन्तलाई बलत्कार प्रधानमन्त्री केपी ओली र गृहमन्त्री बादलकै मान्छेले गरेका हुन् । पीडितलाई न्याय दिन नसक्ने गृहमन्त्रीले राजिनामा दिनुपर्छ ।”

अहिलेको सरकार अधिनायकबाद तिर गएको उनको आरोप छ । निर्मलाको न्यायको लागी सडकमा पोस्टर टाँस्दा जबरजस्त पोस्टर च्यात्ने र धरपकट गर्ने कार्यमा सरकार गएको उनको भनाई छ । जनतालाई न्याय दिन नसकेर सरकारले नयाँ युगको घोषना गरेर ठाउँठाउँमा पोस्टर टाँस्नु लज्जासपद कुरा भएको उनले बताइन् ।

अर्को फरक प्रसंगमा कुरा गर्दै उनले सरकार भ्रष्ट्राचार तिर चुर्लुम्ब डुबेको बताइन् । उनले भनिन्– “प्रधानमन्त्री ओलीले बाहिर भ्रष्ट्राचार अन्त्य गर्छु भन्दै हिड्ने र भित्र ठुलै ठेकेदार र एनजिओ सँग मिलेर करोडौँ कमाउने काम गर्नुभएको छ ।”

अहिलेको सरकारले जनताको ढाड सेक्नेगरी कर बढाएको उनले बताइन् । सरकारले कर बढाउने मात्रै काम गरेको तर त्यही अनुरुपको सेवा सुविधा नदिएको उनको भनाई छ । केन्द्र सरकारले स्थानीय सरकारलाई करको दायरा नतोकिदिएकाले स्थानीय सरकारले आफुखुसी कर बढाएको उनले बताइन् ।

प्रेस युनियन सल्यानका उपाध्यक्ष राजेश शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन सचिव जनक केसी जेएनले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १८ गते मङ्गलवार