• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा बंगुर पालनबाट एक व्यक्तिको मासिक ८० हजारसम्म आम्दानी


सन्तोष घती
मंसिर १९, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ कपुरकोटका किसान भक्त बहादुर घर्तीको बंगुर खोरमा ५७ वटा बिभिन्न जातका बंगुरहरु रहेका छन् ।

२०७२ साल देखि ब्यबसायिक रुपमा बंगुर पालन ब्यबसाय सुरु गरेका घर्तीको बंगुर खोरमा डिग्रो, धरानी, पोख्रेल तथा स्थानीय जातका गरी ५७ वटा बंगुरहरु रहेका छन् । कपुरकोट बजारमा तरकारी तथा फलफुल पसल गर्दै आएका घर्तीले सुरुमा तरकारी पसलबाट निस्कने सडेगलेका तरकारी तथा फलफुलको सदुपयोग गर्न २० हजारको लगानीमा २ वटा बंगुर पालेर ब्यबसाय सुरु गरेका थिए ।

उनले भने– “बंगुरको संख्या बढ्दै गएपछि होटलबाट निस्कने जुठो पिठोलाइ पनि दानाको रुपमा प्रयोग गर्न थालेको छु ।” बंगुर पालन ब्यबसाय गरेका घर्तीले प्रत्येक मंगलबार र शुक्रबार कपुरकोटमा बंगुर काटेर प्रति किलो २ सय ७० रुपैयामा मासु बिक्रि गर्ने गर्दछन् भने बंगुरको पाठापाठी ३ हजार देखि ४ हजार सम्ममा बिक्रि गर्दै आएका छन् । बंगुरको पाठापाठी तथा मासु बिक्रि बाट उनले मासिक ७५ देखि ८० हजार सम्म आम्दानी गर्दै आएको बताए ।

बंगुर पालन ब्यबसाय गरेको १ बर्ष पुग्नै लाग्दा भरत बंगुर फर्म तथा घर्ती बंगुरको मासु पसलको नाममा जिल्ला पशु सेवा कार्यालय सल्यानले खोर सुधारका लागि ५० हजार र बजारिकरणका लागि ४० हजार सहयोग गरेको घर्तीले सुनाए ।. उनले भने– “त्यस पछि स्थानिय तह लागु भयो बंगुर पालन गर्नेका लागि अनुदान मिल्छ भनेको त सुनेको छु तर कहां र कसरी पाइन्छ त्यो भने मलाइ थाहा छैन ।” कतैबाट अनुदान मिलेमा बंगुर पालन ब्यबसायलाइ अझ ब्यबस्थित बनाएर बंगुर पाल्ने र बंगुरको मासु पसल चिटिक्क बनाउने इच्छा भएको घर्तीले बताए ।

ब्यबसायिक बंगुर पाल्ने किसान र मासु बिक्रि गर्ने ब्यबसायीबाट प्रस्तावना नआएको कारण बंगुर पालन र मासु पसलका लागि कार्यक्रम नगरिएको पशु सेवा शाखा कपुरकोट गाउंपालिकाका प्रमुख अरुणा भण्डारीले बताइन् । कपुरकोटमा पनि ब्यबसायिक रुपमा बंगुर पाल्ने किसान भएको कुरा आफुलाई भर्खर मात्र जानकारी भएकाले आगामी बर्ष बंगुर पालनका लागि कार्यक्रम बनाइने भण्डारी बताइन ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार