• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

रोल्पाको जिनाबाङमा खानेपानीको चरम समस्या, पानी भर्न ४ दिनसम्म पर्खनुपर्ने


लेकाली अनलाइन
मंसिर १९, सल्यान ।
रोल्पाको सुकिदह गाउँपालिका ३ मा खानेपानीको चरम समस्या भएको छ ।

साविकको जिनाबाङ गाविस वडा नम्बर ३, ४ र ५ का नागरिकहरुलाई खानेपानीको समस्या भएको हो । करिब २० बर्षअघि रोल्पा र सल्यानको सिमानामा पर्ने जथाक लेकमा रहेको रोटेपानी मुहानबाट खानेपानी पाइप लाइन बिस्तार गरिएको सो ठाउँमा अहिले जनसंख्या बृद्धि भएसँग खानेपानीको समस्या भएको हो ।

रोटेपानीबाट आउने उक्त पानी झ्याम, मनिमारे, बडाढुंगा, कुयापानी, लोरिविनी, डाँडाखुटी लगाएतका गाउँका नागरिकहरुले उपभोग गर्दै आएका छन् । हाल यी सबै गाउँ सुकिदह गाउँपालिका वडा नम्बर ३ मा पर्छन् । अहिले पानीको श्रोत घटेको र जनसंख्या पहिलेकाे भन्दा तिनगुणा धेरै बृद्धि भएपछि पानिमा समस्या भएको स्थानीयहरुले बताएका छन् । पहिले २ सय घरधुरीलार्इ भनेर बनाइएकाे खानेपानी याेजना अहिले ६ सय भन्दा धेरै घरधुरीले उपभाेग गरिरहेका छन् ।

खानेपानीको मुहानतिर पर्ने सुरुका गाउँहरुमा त्यती धेरै पानीको समस्या नदेखिए पनि फेदमा पर्ने २ यस भन्दा धेरै घरधुरी भएको कुयापानी, लोरीबिनी र डाडाँखुटीका गाउँमा चरम खानेपानीको समस्या भएको स्थानीय सेर बहादुर डाँगीले बताए । लेकाली अनलाइन सँग कुरा गर्दै उनले भने– “२० बर्ष अघि आएको रोटेपानी योजनाले उतिबेला गाउँमा खानेपानीको समस्या हटेको थियो, तर अहिले जनसंख्या बृद्धि भयो । अनि पानीको श्रोत पनि घटेर चरम पानीको अभाव छ ।” अझ फागुन देखि असारको पहिलो हप्तासम्म पानीको पुरै हाहाकार हुने उनको भनाई छ ।

त्यस्तै अर्का स्थानीय रेशम केसीले गाउँ अग्लो ठाउँमा भएकाले अन्य कुनै ठाउँबाट पनि पानी ल्याउन नसकिएको बताए। त्यसको बिकल्पमा गाउँदेखि धेरै तल रहेको खोलाबाट लिफ्ट सिस्टमबाट पानी तान्न सकिने उनले लेकाली अनलाइनलाई बताए ।

दुईबर्ष अघि राप्ती नदिको सिरानमा रहेको स्याउलीबजारबाट नेपाल सरकारका कर्मचारीहरुले लिफ्ट खानेपानीको नापजाँच गरेको तर अहिलेसम्म त्यसको अत्तोपत्तो नभएको उनले बताए । खोलाबाट लिफ्ट गरेर पानी तानेमात्रै खानेपानीको समस्या हट्ने उनको भनाई छ ।

पाइपको पानी नआउदा इनारमा धेरै पालो कुरेर बस्नु पर्ने अबस्था भएको स्थानीय महिला साधना ओलीले बताइन् । उनले भनिन्– “धारामा धेरै दिनका पानी आउछ, इनार पनि घरदेखि धेरै टाढा छन्, उपभोक्त धेरै भएकाले लाइन कुर्नुपर्छ ।” चैत बैशाखमा इनार पनि सुक्ने भएकाले उक्त अबधीमा सबैभन्दा ठुलो समस्या हुने उनको भनाई छ ।

विगत लामो समयदेखि पानीको चौकिदार गर्दै आएका आसिराम ओलीले पहिले ठुला ट्याङ्की निर्माण गरिएको तर अहिले मुहानबाट पानी थोरै आउने गरेकाले ट्याङ्की नै नभरिने बताए । गाउँदेखि ५ किलोमिटर भन्दा टाढा मुहानबाट पानी आउने तर थोरै मात्रै पानी आउने भएकाले समस्या भएको उनले बताए । उनले भने– “आजभोली एकदिन बिराएर धारा खोल्छु तर फागुनदेखि असारसम्म ४–५ दिन बिराएर धारा खोलनुपर्छ ।”

उता खानेपानी डिभिजन कार्यालय प्युठानका प्रदिप लाल कर्णले यो क्षेत्रमा छिटै इन्जिनियर पठाएर खानेपानीको समस्याबारे जानकारी लिने बताएका छन् । रोल्पा, पुर्वी रुकुम र प्युठान गरि ३ जिल्ला हेर्ने खानेपानी डिभिजन कार्यालय प्युठानमा यसअघि पनि खानेपानीको समस्याबारे खबर आएको र आन्तरिक काम मिलाउदा ढिला भएकोले तत्काल सो ठाउँमा इन्जिनियर पठाएर भौगोलिक बनावट हेर्ने उनले लेकाली अनलाइनलाई बताए ।

खानेपानीको समस्याबारे सोहि ठाउँमा पुगेर अध्यान गर्ने र समाधानको लागी प्रदेश सरकारलाई आग्रह गर्ने उनकाे भनार्इ छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार