• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

‘अबको जनयुद्ध बन्दुकले हुँदैन, मिसाइल आक्रमण हुन्छ’ : सुदर्शन


पुस ११, काठमाडौँ ।
विप्लव नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली सुदर्शनले अब नयाँ ढङ्गले जनयुद्ध गर्ने बताएका छन् । उनले अबको जनयुद्ध पुरानो तरिकाले बन्दुक बोकेर नभई मिसाइल आक्रमणमार्फत् हुने बताएका हुन् ।

माओ दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको काठमाडौं उपत्यका विशेष ब्यूरोले काठमाण्डौंको कमलादीस्थित प्रज्ञाभवनमा आयोजना गरेकोे ‘नेपाली क्रान्तिको कार्यदिशा र माओवादको महत्व’ विषयक कार्यक्रममा बोल्दै नेता सुदर्शनले अबको मुख्य लडाई सत्तारूढ दल नेकपा र त्यसका अध्यक्ष प्रचण्डबिरुद्ध केन्द्रीत हुने पनि बताए । वर्तमान सरकार असफल भइसकेको भन्दै सुन काण्ड र निर्मला पन्त जस्ता काण्डमा सरकारकै मानिस संलग्न भएको आरोप लगाए ।

फरक प्रशङ्गमा प्रधानमन्त्री केपी ओलीले आफूहरुलाई सिके राउतसँग तुलना गरेकाले वार्तामा नआएको स्पष्ट पारे । सत्तापक्ष कमजोर नबनाएसम्म वार्ता गर्नुको औचित्य नहुने बताए । देशको स्वाधीनता, राष्ट्रियता र जनताको पूर्ण अधिकारको लागि राजनीतिक क्रान्ति गरिरहेका क्रान्तिकारी शक्तिलाई भ्रम दिएर फसाउन सकिन्छ कि भन्ने उद्देश्यबाट सरकारबाट वार्ता हल्ला गरिएको उनको टिप्पणी थियो ।

सुदर्शनले वार्ताबारे सरकार नै स्पष्ट नरहेको भन्दै धेरै भ्रम नछर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।
वर्तमान राज्यव्यवस्थालाई ‘दलाल संसदीय व्यवस्था’को संज्ञा दिदै उनले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यक्रम चलाइरहेको दावी गरे ।

प्रकाशित मिति : २०७५ पुष ११ गते बुधवार