• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

कर्णाली प्रदेशका लोभी सांसद : सरकारी क्वार्टरमा बस्छन्, घरभाडा खल्तीमा हाल्छन्


पुस १२, सुर्खेत ।
कर्णाली प्रदेशका सांसदहरूले घरभाडामा पुरै लाभ देखाएका छन् भने कतिले कानुन विपरीत घरभाडा खल्तीमा हालेका छन् । कर्णालीलाई समृद्ध र विकसित बनाउछौं भन्ने सांसदहरूले मासिक १५ का दरले कानुन विपरीत घरभाडा बुझिरहेका छन् ।

प्रदेश राजधानी सुर्खेतमै घर हुनेले झुटा विवरण पेस गर्दै घरभाडा लिइरहेका छन् । रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा र सुर्खेत निर्वाचन क्षेत्र (ख)का सांसद विन्दमान विष्टले कानुनविपरीत सुविधा लिइरहेका छन् । उनीहरू सुर्खेतस्थित सिँचाइ डिभिजन कार्यालयको आवासमा बस्दै आएका छन्, तर प्रदेश सभाबाट घरभाडाबापत मासिक १५ हजार रुपैयाँ पनि बुझ्दै गरेको खुलेको छ । विष्ट भदौदेखि र सांसद शर्मा असोजदेखि सरकारी आवासमा बस्दै आएका छन् ।

कर्णाली प्रदेश सभा पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिकसम्बन्धी ऐन, २०७५ ले सरकारी आवास प्रयोग गर्नेलाई घरभाडा उपलब्ध नगराउने व्यवस्था गरेको छ । तर, सांसदद्वय शर्मा र विष्टले मंसिरसम्मको घरभाडा रकम बुझिसकेका छन् । सांसद शर्माले १ पुसदेखि भने घरभाडा नलिने निवेदन प्रदेश सभामा दिएका छन् ।

त्यस्तै राजधानी वीरेन्द्रनगरमा घर भएर पनि नेकपाका सुशीलकुमार थापा, अम्मरबहादुर थापा र सीता नेपाली तथा कांग्रेसका यज्ञबहादुर बिसीले घरभाडाबापत १५ हजार रुपैयाँ बुझिरहेका छन् । ऐनमा राजधानी वीरेन्द्रनगर नगरपालिकाभित्र घर भएका सांसदलाई मर्मत सम्भार बापत आधा रकम उपलब्ध गराउने व्यवस्था छ । वीरेन्द्रनगरमै घर भएका यामलाल कँडेल, राजु नेपाली र पद्मा खड्काले भने घरभाडा सुविधा लिएका छैनन् ।

तस्बिर : कर्णाली प्रदेशसभा भवन 

प्रकाशित मिति : २०७५ पुष १२ गते बिहिवार