• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानको बन्गाड कुपिण्डेका ४० प्रतिशत घरधुरी खानेपानीको चरम समस्यामा


पुस २८, सल्यान ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका नागरिकहरु खानेपानीको चरम समस्या झेल्दै आएका छन् ।

नगरका करिब ४० प्रतिशत घरधुरी लामो समयदेखि खानेपानी समस्यामा झोग्दै आएका छन् । नगरपालिका अन्तरगत पर्ने मूलखोला, लाखर, कफल्लेनी, च्युरा देवस्थलको सल्लीबजार, घाटगाउँ, नाम्रा, घाँजरीपीपलको मैदुचौतारा, संग्रही र बांमे लगाएतका गाउँका स्थानीय बासिन्दाले लामो समयदेखि खानेपानी समस्या भोग्दै आइरहेका हुन् ।

मूलखोला लाखरकी ४० वर्षीया दिलमाया खत्रीले ३ घण्टा पैदल हिंडेर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको समाचार कान्तिपुर दैनिकमा विप्लव महर्जनले लेखेका छन् । समाचार अनुसार धेरै दुख गरेर पानी ल्याउनुपर्ने भए पनि खानमात्र पुग्ने गरेको दिलमाया खत्रीले बताएकी छन् । ‘लामो समयदेखि खानेपानी समस्या भोग्दै आइरहेका छौं,’ उनले भनिन्, ‘विभिन्न निकायमा खानेपानी समस्या समाधानका लागि हारगुहार गरियो तर, सबैतिरबाट बेवास्ता भइरहेको छ ।’

स्थानीय विमला रोकाले पनि एक गाग्री पानीको लागि धेरै कष्ट भोग्नुपर्ने बाध्यता रहेको बताइन् । गाउँमा खानेपानील्याउन मुहान टाढा भएकाले समस्याभएको उनले बताइन् । नजिकै मुहान भए स्थानीयले जनश्रमदान गरेर पनि खानेपानी योजना निर्माण गर्नसक्ने उनको भनाइ छ । सरकारी निकायले धेरै खर्च लाग्ने भन्दै पुराना योजना मर्मतमा ध्यान नदिएको उनको भनाइ छ ।

दुई दशकदेखि नगरभित्रका अधिकांश गाउँमा खानेपानी समस्या रहेको मूलखोला लाखरका प्युपर खत्रीले बताए । पानीका लागि सास्ती भएपछि अड्कलेर खानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनका अनुसार आधा राति नै उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता छ । उनले खानेपानी समस्याका कारण महिला बढी जोखिममा रहेको जानकारी दिए । खानेपानी समस्याका कारण स्कुले बालबालिकाको पढाइसमेत प्रभावित भएको उनी बताउँछन् ।

स्थानीय ममता खड्काका अनुसार वर्षातको समयबाहेक अन्य समयमा स्थानीयले खानेपानीका लागि सास्ती भोग्नुपरेको बताइन् । ‘वर्षातको समयमा गाउँमै मूल जाग्छन् र टाढा जानु पर्दैन,’ उनले भनिन्, ‘फागुन लाग्नेबित्तिकै मुहान सुक्ने गरेकाले गाउँभन्दा टाढा जानुपर्ने बाध्यता छ ।’ उनले खाना खानेभन्दा बिहान कतिखेर उठेर पानी लिन जाने भन्ने पिरलो हुने गुनासो पोखिन् । पानीको अभावका कारण सरसफाइलगायत काममा समस्या भएको उनी बताउँछिन् । उनका अनुसार खानेपानी समस्याकै कारण शौचालय प्रयोगमा समेत समस्या भएको छ ।

पुराना योजना मर्मत नहुँदा र नयाँ निर्माणप्रति सरकारी निकायले चासो नदिँदा स्थानीय बासिन्दा खानेपानी समस्यामा परेका हुन् । ३५ हजार जनसंख्या रहेको नगरमा झन्डै १० हजार बासिन्दा खानेपानी समस्यामा रहेको नगरपालिकाले जनाएको छ । वर्षौंदेखि गाउँमा खानेपानी नहुँदा घन्टौं पैदल हिंडेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यताले स्थानीयलाई सास्ती भएको छ ।

यता नगरप्रमुख गोविन्दकुमार पुनले नगरभरिका अधिकांश गाउँमा खानेपानी समस्या भएकाले गुरुयोजना निर्माण गरी आवश्यक कार्य गरिने बताए । उनका अनुसार गत वर्ष दुई योजना सम्पन्न गरेपछि एक सय ५० परिवार खानेपानी सुविधाबाट लाभान्वित भएका छन् ।

‘नयाँ योजना सञ्चालन गर्न धेरै बजेट लाग्ने भएकाले सोचेअनुसार खानेपानीको क्षेत्रमा काम गर्न सकिएको छैन,’ उनले भने, ‘गुरुयोजना निर्माण गरी प्राथमिकताका आधारमानयाँ योजना सञ्चालन गरिनेछ ।’

उनका अनुसार यो वर्ष प्रदेश सरकारसँगको साझेदारीमा चार योजना सञ्चालन गर्न थालिएको छ । बस्ती डाँडामा भएका कारण नगरमा बढी खानेपानी समस्या रहेको उनले जानकारी दिए ।

तस्विर: दुर्गा विसी/लेकाली अनलाइन

प्रकाशित मिति : २०७५ पुष २८ गते शनिवार