• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

प्रदेश ५ बाट बाँके र बर्दिया छुट्याउने सांसदको चेतावनी


पुस ३०,  बुटवल ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानीको विषयमा जथाभावी नबोल्न सांसदहरुलाई आग्रह गरेका छन् ।

आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले नामांकन र राजधानीको विषय प्रदेशसभाको अधिकार भएकाले बाहिर जथाभावी नबोल्न आग्रह गरेका हुन् । प्रदेशको राजधानी सार्ने विषयमा षड्यन्त्र भएको भन्दै प्रतिपक्षी कांग्रेसले बुटवलमा खबरदारी सभा गर्न लागेको तर्फ इंगित गर्दै मुख्यमन्त्री पोखरेलले सडकमा गएर फैसला नगर्न आग्रह गरे ।

स्थायी राजधानीको निर्णय गर्ने थलो प्रदेशसभा भएको स्मरण गराउंदै उनले प्रदेशसभाको अधिकार क्षेत्र नमिच्न सुझाए ।‘प्रदेशको स्थायी राजधानी खोज्नै बाँकी छ’ मुख्यमन्त्रीले भने ‘त्यो अधिकार प्रदेश सभाको हो, संघीय सांसदहरुलाई यसबारे सडकमा गएर बोल्ने अधिकार छैन ।’ जनतालाई उचाल्ने काम नगर्न आग्रह गर्दै उनले स्थायी राजधानी कहाँ हुने भन्दा पनि कस्तो बनाउने भन्ने बारेमा छलफल गर्न आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले स्थायी राजधानीबारे भेगीय हिसाबले कुनै आग्रह पूर्वाग्रह नराख्न आग्रह गर्दै सांसदहरुलाई बाहिर जथाभावी नबोल्न सचेत गराए । प्रदेशको नामांकन र राजधानी चयनका लागि प्रदेशसभाले समिति गठन गरिसकेको छ । समितिमा छुटेका जिल्लाहरु समेट्नुपर्छ भन्ने माग नाजायज हैन भन्दै मुख्यमन्त्रीले यसमा प्रतिपक्ष जिम्मेवार हुनुपर्ने बताए ।

यसैबिच बैठकमा बाेल्दै सत्तारुढ दल नेकपाका सांसद इन्द्रप्रसाद खरेलले प्रदेश ५ लाई बांके र बर्दिया जिल्ला नचाहिने हो भने छुट्टिन तयार रहेको चेतावनी दिएका छन् । आइतबारको प्रदेश सभा वैठकमा विशेष समय लिएर बोल्दै बर्दियाका सांसद खरेलले बर्दिया, रुकुम पूर्व र नवलपरासीका सांसदलाई स्थायी राजधानी र प्रदेश नामाकरण सिफारिस समितिमा नराखिएकोमा समेत आपत्ति जनाउंदै यदि बांके र बर्दियालाई प्रदेशबाट अलग गराउनै चाहेको भए आफूहरु छुट्टिन तयार रहेको बताए ।

प्रकाशित मिति : २०७५ पुष ३० गते सोमवार