• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

पक्राउ परेका विप्लवका ३ जना मजदुर नेतालाई रिहा गर्न सर्वोच्चकाे आदेश


पुस ३०, काठमाडौं ।

पक्राउ परेका विप्लव नेतृत्वकाे नेकपाका तीन मजदुर नेतालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले सोमबार सरकारलाई आदेश दिएको छ ।

अखिल क्रान्तिकारी हाईड्रो तथा खानी मजदुर संघका केन्दीय अध्यक्ष लोकेन्द्रराज थापा, उपाध्यक्ष विकास थापा र महासचिव केशबबहादुर बुढाको रिहाईको मागसहित सर्वोच्चमा दायर रिटमाथि आजको बहसपछि न्यायाधीश मिरा खड्का र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले थुनाबाट मुक्त गर्न आदेश दिएको हो ।

पक्राउ गरी थुनामा राख्नुपर्ने आधार र कारण नदेखिएको भन्दै रिहा गर्न आदेश भएको हो । दस दिनदेखि तीनैलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टेकु हिरासत हुँदै हाल सिंहदरबार प्रहरी वृत्त हिरासत राख्दै आएको थियो ।

रिट निवेदनमाथिको बहसमा निवेदकको पक्षबाट अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना र राजु अधिकारीले गरेका थिए । रिटमा गृह मन्त्रालय,ललितपुर प्रहरी परिसर, प्रहरी प्रधान कार्यालय, सिंहदरबार प्रहरी वृत्त, काठमाडौं जिल्ला प्रशासन कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो ।

उनीहरुलाई बिनाकारण गिरफ्तार गरी गैरन्यायिक रुपमा प्रहरीले हिरासतमा राखेको भन्दै तत्काल रिहाईको मागसहित कमला स्याङतान र नवराज विकास थापाले रिहाईको माग गर्दै पुस २४ गते रिट निवेदन दार्ता गरेका थिए ।

उनीहरुलाई यही पुस १९ गते साँझ ६ बजेतिर करिब आधा घण्टाको अन्तरमा ललितपुरको भैंसेपाटी र नख्खु चोकबाट प्राइभेट गाडीमा आएका सादा पोशाकका प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।

‘चन्दा’ उठाएको आरोपमा गिरफ्तार गरिएपनि त्यससम्बन्धी आधारहरु फेला पर्न नसकेपछि प्रहरीमाथि ‘अभद्र’ व्यवहार गरेको अभियोगमा सार्वजनिक मुद्दा चलाइएको बन्दीहरुले बताए ।

प्रकाशित मिति : २०७५ पुष ३० गते सोमवार