• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

राज्यले चासाे नदिएकाे सल्यानको ‘सुन्तला गाउँ’काे कथा


खकेन्द्र केसी

पुस ३०, सल्यान ।

राप्ती अन्चलको सबैभन्दा धेरै सुन्ताला उत्पादन हुने ठाउँ मध्ये पर्छ सल्यानको साविक काटमौला गाविस । हालको बागचौर नगरपालिका ८ र ९ नम्बर वडामा विभाजन गरिएको कोटमौलाका विभिन्न गाउँहरुमा प्रसस्तै सुन्तला उत्पादन हुने गर्दछन् ।

अहिले कोटमौलाका गाउँहरु सुन्तला गाउँ नै बनेका छन् । सुन्तलाको जंगलजस्तो देखिन्छ यहाँका विभिन्न गाउँहरु । घर वरिपरि पहेंलपुर लोभलाग्दा दाना लटरम्म छन् । हाँगाले धान्नै नसक्ने गरी दाना लागेकाले टेको लगाएर अड्याउनु परेको छ ।

कोमौलामा सुन्तला पाउने गाउँहरुमा डाँगीगाउँ, रयजबोट, हरिपुर, बयालडाँडी, कोट्, खोरबारे, धामिढुङ्ग रहेका छन् भने अन्य गाउँमा पनि फाटफुट पाउने गर्दछन् । देशभरी नै अदुवामा चर्चा पाएको सल्यानको माल्नेटा र तरकारीमा चर्चा पाएको कपुरकोटको नाम धेरै पटक आउछ ।

उसो त कोटमौला पनि कम छैन् । यहाँ फलफुलको प्रचुर सम्भावना र उत्पादन हुन्छ । त्यसमध्ये कोटमौलामा सुन्तला प्रचुर मात्रमा उत्पादन हुने गर्दछ । उचित प्रचारको कमीले यहाँको सुन्तलाले भने देशभर चर्चा पाउन सकेको छैन् ।

हाँसोमा बन्यो सुन्तला

२०३० सालमा ४ ओटा बोटबाट स्थानीय सेर बहादुर डाँगीले सुन्तला खेती सुरु गरेका थिए । उनले सुन्तला खेति गर्दा सबै हाँसेका थिए । सुन्तलाबाटै जिवन स्थर चलाउछु भन्दा उनको कुरा अरुले हाँसोमा उडाउने गरेको उनका छोरा अंगेश्वरी डाँगी बताउछन् । बुबाको जिम्मा छोरामा आइसकेपछि अंगेश्वरले पनि सुन्तलालाई निरन्तरता दिए ।

उनले अहिले एक सिजनामा २० लाख भन्दा धेरै कमाउछन् । त्यसैगरी अर्का किसान भरत नाथ योगीले २०३८ सालमा सुन्तला रोप्दा उनको कुरा पनि हाँसोमय बन्यो । कतीले त गहुँ, मकै फल्ने बारी मास्यो भनेर पागल सम्म भनेर कुरा काटेको उनी सम्झन्छन् । तर पनि अठोरका साथ उनले १४ बर्षसम्म सुन्तलामै संघर्ष गरे ।

२०५२ सालमा कृषी कार्यालयका प्रमुख आएर कृषी समुह गठन गरेपछि बल्ल योगीको सुन्तलाले सार्थकता पाउन थाल्यो । हरेक घरले कम्तीमा ५० बोट सुन्तला लगाउनु पर्ने समुहले निर्णय गर्याे । योगी त सुन्तलाका अगुवा नै बने । उनले एक हजार ओटा सुन्तलाका बिरुवा लगाए ।

अहिले आएर उनले एक सिजनमा ३० लाख भन्दा बढीको आम्दानी सम्म गर्न थालेका छन् । सुन्तलाले नै आफ्नो जिवन स्थर बदलिएको उनी सुनाउछन् । अहिले उनको सबै बारीमा सुन्तलाका बिरुवा मात्रै छन् । उनी कोटमौलामा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने किसानमा पर्छन् ।

यी त कोटमौलामा अगुवा किसानका उदाहरण मात्रै हुन् । अहिले कोटमौलामा सुन्तलाबाटै जिवन स्थर उकास्नेको संख्या सयौँ पुगेको छ । यहाँ सुन्तला नरोप्ने घर नै छैनन् । सुन्तलाबाट कोटमौलाका नागरिकहरु स्वरोजगार हुन थालेका छन् भने कामदारको खोजी गर्छन् ।

यस क्षेत्रबाट गत बर्ष ३० करोड भन्दा धेरैको सुन्तला जिल्ला बाहिर गईसकेको छ भने यस बर्ष ४० करोड भन्दा धेरैको सुन्तला उत्पादन भएको अनुमान गरिएको छ ।

सुन्तला किन्न बगैचामै व्यापारी

यहाँका किसानहरु सुन्तला डोकोमा बोकेर बजार खोज्दै हिँड्नु पर्दैन, अहिले बगैंचामै आइपुग्ने व्यापारीले बजार र्पुयाइदिन्छन् । आँगनमै आम्दानी हातहातै पर्ने भएकाले किसान व्यावसायिक खेतीमा लागेका छन् । यहाँको सुन्तला सल्यानका विभिन्न बजार सँगै दाङ, नेपालगन्ज, कोहलपुर, बर्दिया बुटवल, काठमाण्डौँ, धनगढी, महेन्द्रनगर, दिपायल लगाएत भारतका केहि भागमा पुग्ने गर्दछ ।

सबैभन्दा धेरै यहाँको सुन्तला धनगढी बजारमा पुग्ने गरेको व्यापारीहरु बताउछन् । व्यापारीहरुले सुन्तलाको बोटमै गएर प्रतिकिलो ५० देखि ६० रुपैयाँ सम्म मुल्य दिने गरेका छन् ।

पाहुँनालाई सुन्तलाले स्वागत्
हरेक घरमा पुग्ने पाहुनालाई यहाँ बोटबाटै टिपेर सुन्तला थालीमा राखी स्वागत गर्ने गरिन्छ । सुन्तला खाना र फोटाहरु खिच्न यहाँ थुप्रै मानसहरु आउने गर्दछन् । सुन्तला नहुने गाउँका मानिसहरु यहाँ आफन्तको नातामा सुन्तलाको रौँनक हेर्न र खाना आउने गर्दछन् ।

फर्किदा सुन्तला कै कोसेली लिएर जाने गर्दछन् । रोल्पा सुकिदहका खेम बहादुर ओली डाँगीगाउँमा भेटिए– लेकाली दर्पण सँग कुरा उनले भने– “मेरी बुहारीको माइत यहि हो, आफन्त सँग भेटघाट गर्न र सुन्तला हेर्नकै लागि आएको हुँ ।” यो मौसममा प्रचार प्रसार गर्न सकिए कृषि पर्यटन प्रबर्द्धन गर्न सकिने उनको भनाइ छ । कात्तिक महिना देखि पुस अन्तिमसम्म गाउँ नै पहेंलपुर देखिने गर्छ ।

गत अघिल्लो बर्ष तत्कालिन कृषिमन्त्री गौरीशंकर चौधरी र कृषि विभागका महानिर्देशक सहितको टोली यहाँ आएका थिए । तर त्यस क्रममा किसानले अगाडि सारेका कुनै पनि माग अहिलेसम्म पुरा नभएको किसानहरु बताउँछन् ।

पर्यटकीय गन्तव्य बन्न सक्ने
कार्णली प्रदेशको राजधानी सुर्खेतबाट पुर्वमा पर्छ सल्यान सदरमुकाम खलंगा । खलंगाबाट करिब ४० किलोमिटर पुर्वी उत्तरी रोल्पाको सिमानामा रहेको छ काटमौला । प्रदेश नम्बर ५ को दाङ तुलसीपुरबाट पनि उत्तरी भागमा रहेको कोटमौला करिब ८५ किलोमिटरको दुरीमा पर्दछ । ८० किलोमिटरको दुरीमा रहेको राप्ती राजमार्गको थारमारे र बागचौरबाट स्थानीय शारदा खोला तरेर बागचौर कोटमौला रोल्पा सडकखण्डबाट ५ किलोमिटर पूर्व यात्रा गरेपछि कोटमौला पुगिन्छ ।

यहाँका डाँगीगाउँ लगाएतका गाउँहरु सुन्तलाको रुपमा परिचित छन् । यो गाउँ सुन्तलाको बगैचाले ढाकिएको छ । क्यारी मिलाएर लगाएका सुन्तलाका बोटहरु र कमेरो माटोले पोतिएका परम्परागत ढुंगे घरहरुका कारण यो गाउँ निकै आकर्षक मानिन्छ । यहाँ पुग्ने जो कोहिलाई पनि यस्तो दृश्यले मोहित पार्न गर्छ ।

घर नै ढाकिने गरि आँगनसम्म रोपिएका सुन्तलाका बोटमा लोभलाग्दा पहेँला दाना देखिन्छन् यो गाउँमा । कार्तिक महिनाको पहिलो हप्तादेखि पुसको अन्तिम सातासम्म यहाँ पुग्ने जो कोहि पनि दंग पर्ने गरेका छन् । यो क्षेत्रलाई प्रचारप्रसार गरे कृषी पर्यटनको राम्रो सम्भावना छ । सुन्तला अध्यागमनको लागी पनि विभिन्न जिल्लाबाट यहाँ मानिस उतार्न सकिन्छ ।

छोराछोरीलाई कृषी प्राविधिक शिक्षा पढाउदै
यहाँका किसानहरुले छोराछोरीलाई कृषी प्राविधिक शिक्षा पढाउन थालेका छन् । भविश्यमा अरु शिक्षा पढेर अन्य जागिरमा भैतारीनु भन्दा प्राविधिक शिक्षा पढेर यहि पेसालाई आधुनिक तरिकाले गर्न सकिने भन्दै यस्तो गरिएको किसान नन्दु डाँगीले बताए । त्यस्तै अर्का अगुवा किसान भरतनाथ डाँगीले आफ्नी छोरीलाई पनि कृषी प्राविधिक शिक्षा पढाएको बताए । रोल्पाको राङ्कोटमा आइएस्सीएजी पढिरहेकी छोरीबाट सुन्तला खेतिबारे प्राविधिक सहयोग हुने उनको विश्वास छ ।

सडकको समस्या

दाङको तुलसीपुरबाट रुकुम जोड्ने राप्ती राजमार्गको सल्यान बागचौरबाट कोटमौला हुँदै डाँगीगाउँ लगाएतका गाउँमा पुग्ने कच्ची बाटो छ । त्यस्तै खरीबोट बजारदेखि डाँगीगाउँ जाँन्छ, त्यहाँबाट पनि कच्ची सडक छ । बर्षेनी करोडौँको सुन्तला निर्यात हुने यो ठाउँमा पक्की सडक नहुँनु समस्या भएको यहाँका किसानको दुखेसो छ । यहाँको मुख्य सडक बागचौर–कोटमौला–पातिहाल्न सडक कालोपत्रे भए धेरै राहत हुने यहाँका नागरिकको भनाई छ ।

विद्युतको समस्या
सुन्तला खेतिले किसानको जिवनस्थर खुसी बन्दै गएपनि यो ठाउँमा अहिलेसम्म विद्युत पुग्न सकेको छैन् । केहि बर्ष अघि स्थानीय डाँगीगाउँ खोलाबाट लघुविद्युत निर्माण गरेपछि त्यो धेरै समय टिक्न सकेन् । अहिले यहाँका अध्यारोमा बस्न बाध्य छन् । विद्युत नहुँदा डिजलबाट पम्प चलाएर यहाँका किसानहरु सुन्तलामा सिचाँइ गर्न बाध्य छन् ।

नगरपालिकाको ‘कर’ले निराश

बागचौर नगरपालिकामा पर्ने यी गाउँमा सुन्तलाको विरुवा उत्पादन गरेर बिक्री गरे बापत नगरपालिकालाई प्रति विरुवा २ रुपैयाँ कर तिर्नुपर्ने नियम रहेको छ । सुन्तलाका बिरुवाक उत्पादन गरेर बिक्री गर्दै आएका किसान टोपेन्द्र डाँगीे सुन्तलाका विरुवा बिक्री गरे बापत एउटा विरुवाको २ रुपैया तिर्दा नगरपालिका देखि आफु रुष्ट भएको सुनाउछन् । उनि भन्छन्– “नगरपालिकाले त किसानलाई प्रोत्सान दिनुपर्छ, राम्रो उत्पादन गर्नेलाई पुरुस्कृत गर्नुपर्छ । तर यहाँको नगरपालिकाले उल्टै लुट्ने गर्छ, सुविधा केहि दिदैन् ।”

एउटा सुन्तलाको विरुवा १४ देखि १८ रुपैयासम्म बिक्री हुने र त्यसमा पनि २ रुपैया कर लगाउदा उत्पादन गर्न गाह्रो भएको उनको भनाई छ । सुन्तला विक्रीमा पनि प्रति क्वीन्टल २ रुपैयाँ कर लगाइएको तर त्यहि अनुसारको सुविधा नभएको अर्का किसान विरेन्द्र डिसी दुखेसो सुनाउछन् ।

राज्यसँग गुनासो

सुन्तलामा लाग्ने रोग नियन्त्रण र सडक, विद्युत विस्तारको लागी पटकपटक सरकार सँग आग्रह गरेपनि कुनै सुनुवाई नभएको यहाँका नागरिकले गुनासो गरेका छन् । दुईवर्ष अघि तत्कालिन कृषी मन्त्री गौरीशंकर चौधरी सहितको टोली यो गाउँमा आउदा किसानहरु धेरै माग राखेको रत अहिले सम्म कुनै मागको सुनुवाई नभएको उनिहरु बताउछन् । यहाँको मुख्य माग भनेको सुन्तलामा लाग्ने रोग किरा नियन्त्रण हो । राष्ट्रिय समस्या बनेको ‘सिट्रस ग्रिनिङ पोजिटिभ’ भाइरस यहाँ पनि देखा पर्न थालेको छ, जसका कारण बोट पहेंलो हुँदै सुक्ने गर्छ ।

बेलाबेलामा असिनापानीले सुन्तलामा केही क्षति पु¥याउदा पनि किसानहरु निराश हुने गरेका छन् । यसलाई आफुहरुले रोक्न नसकेको उनिहरु बताउछन् । पटकपटक मिडियामा आफ्ना गुनासाहरु आएपनि राज्यपक्षले वास्ता नगरेको अगुवा किसान भरतनाथ योगी बताउछन् । कित राज्यले मिडिया नै हेर्दैन् भनेर उनले प्रश्न पनि गरेका छन् । उनि भन्छन्– “हाम्रा आवाज देश विदेशसम्मा पुगेपनि हामीसँगै रहेका वडा, नगर, जिल्ला र प्रदेशले सुनेका छैनन् ।”

नेपालमा प्राविधिक नभए विदेशबाट ल्याएर भएपनि सुन्तलाको उपचार गर्नुपर्ने अन्यथा हजारभन्दा बढी घरका दशौँ हजार बासिन्दा प्रभावित हुने उनको गुनासो छ ।

प्रकाशित मिति : २०७५ पुष ३० गते सोमवार