• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानका सिडियो र डिएसपीलाई पक्राउ गरेर जेल हाल्ने हिरासत बनाएका छौं : विश्व


माघ ४, सल्यान ।
नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला ईन्चार्ज डिल्लीराज शर्मा विश्वले सल्यानका सिडियो र डिएसपीलाई आफ्नो पार्टीले गिरफ्तार गरेर जेल हाल्न सक्ने हिरासत बनाएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपाल जिल्ला शाखा सल्यानले शुक्रबार सदरमुकाम खलंगामा गरेको कार्यक्रमा बोल्दै इन्चार्ज विश्वले आफ्ना नेता कार्यकर्तालाई धरपकड गर्ने प्रशासनलाई आफूहरूले पनि नछोड्ने चेतावनी दिए । सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेर हिरासतमा राखे आफूहरूले पनि हिरासत तयार गरेको उनको चेतावनी छ।

उनले भने- “हाम्रा कार्यकर्ता पक्राउ गरेर हिरासतमा राख्ने हो भने सिडियो डिएसपी होस वा जनप्रतिनीधिलाई राख्ने हिरासत हामीले पनि बनाएका छौं ।” सरकारले बनाएको हिरासत सबैले देख्ने तर आफुले बनाएको कसैले नदेख्ने उनले बताए ।

आफ्ना नेता कार्यकर्तालाई जुन स्थानीयले पक्राउ गर्न लगाउछ त्यहि स्थानीय तहको प्रमुखलाई पनि आफुहरुले पक्राउ गरेर आफ्नो हिरासतमा राख्ने उनले बताए । ईन्चार्ज विश्वले अहिले सुरक्षा निकायसंग लड्ने भिड्ने योजना भने नभएको समेत प्रष्ट पारेका छन् ।

आफुहरुको माग अहिलेको व्यवस्था ठिक नभएको र त्यसलाई फेरबदल गर्नु पर्ने भएको तर प्रहरीले आफुहरुलाई अपराधी जस्तो देखेर गिरफ्तार गर्न थालेको उनले बताए । आफुहरुलाई अपराधी जस्तो नदेख्न पनि उनलेे प्रहरीलाई आग्रह गरेका छन् ।आफूहरू गलत गतिविधीको विरोधमा मात्रै रहेको उनले बताए ।

उनले भने- “हामी सुरक्षा निकायसंग लड्नेभिड्ने कुनै योजना छैन तर दुस्ख दिए चुप लाग्दिनौं ।”

उनले क्रान्तिकारी पत्रकार संगठनमा कुनै विवाद नरहेको पनि प्रष्ट पारे । केही स्वार्थ पूरा नभएका मान्छे बाहिरिएर केही फरक नपर्ने स्पष्ट पारे । सल्यानमा क्रान्तिकारी पत्रकार संगठनमा केही समस्या नभएको र कार्वाहीमा परेकाको हल्लाको कुनै तुक नभएको बताए ।

आफ्नो पार्टी निकटको पत्रकार संगठन प्रकाश डुम्रेको नेतृत्वमा भएको भन्दै उनले बाहिर अन्य संगठनको हल्लाको पछी नलाग्न अनुरोध गरेका छन्, उनले भने- ‘त्यो हल्ला मात्रै फैलिएको हो’ । पार्टीले कारबाही गरेका केहि व्यक्तीले पार्टी बिनाको संगठन बनाएर कार्यक्रम गर्नुको कुनै औचित्यत नभएको भन्दै, उनले कसैलाई भ्रममा नपरेर डुम्रेको नेतृत्वमा रहेको पत्रकार संगठनलाइ साथ दिन आग्रह गरेका छन् ।

उनले पार्टीले लगानी गरेको मिडयामा केही अराजकहरूले दुरूपयोग गरेको भन्दै यसलाई छिट्टै ब्यवस्थापन गर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २०७५ माघ ४ गते शुक्रवार