• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाइजो थोरै भएको भन्दै परिवारले दिएको यातना सहन नसकेर छोरीको हत्या गरी आमाले गरिन् आत्महत्या


माघ  ७, जनकपुर ।

जनकपुरमा एक महिलाले आफ्नो नावालक छोरीको हत्या गरेर आफुले पनि आत्महत्या गरेकी छन् । दाइजो थोरै ल्याएको भन्दै परिवारका सदस्यले दिएको यातना सहन नसकेर महिलाले आत्महत्या गरेकी हुन् । उनले आफ्नो नावालक छोरीको पनि हत्या गरेकी छन् ।

परिवारले दिएको यातना सहन नसकेर महिलाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगर–४ सरहन्चिया शान्तिनगरकी २५ बर्से सीमा शर्माले आफ्नो दुई वर्षकी छोरीको हत्या गरेर आफुले पनि विष खाएकी हुन् । उनले छोरीलाई पनि विष खुवाएको प्रहरी अनुसन्धानवाट देखिएको हो ।

प्रहरीका अनुसार शर्माले श्रीमान्, सासुससुरा र नन्दले दाइजो कम ल्याएको भन्दै यातना दिएका थिए । प्रहरीले आत्महत्या गर्न बाध्य पारेको अभियोगमा सीमाका ससुरा ६५ बर्से श्यामसुन्दर मिश्र, ६० बर्से सासु किरण मिश्रलाई पक्राउ गरेको जनाएको छ । उनका श्रीमान भने फरार छन् ।

यसैबीच मृतक आमाछोरीको शोकमा दीप प्रज्वलनसँगै दोषीलाई कडा कारबाहीको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन भएको छ। सीमाका आमा बुवाले पाँच वर्ष अघि छोरीको विवाह गर्दा एघार लाख दाइजो दिएका थिए ।

महोत्तरीको लोहारपट्टी—७ भ्रमपुरकी सीमा शर्मालाई उनका बुवाले नगद ८ लाख, दुई लाख ३६ हजार रुपैयाँको पल्सर मोटरसाइकल र दुई तोला सुनसंगै पठाएका थिए । मागेअनुसार दाइजो जोहो गर्न उनको बुवाले सात कट्ठा खेत बिक्री गरेका थिए।

केटा पक्षले भने थप नगद, सुनचाँदी र सरसमान ल्याउन दबाब दिने र नल्याए घरबाट निकाला गरिदिने धम्की दिएको सीमाका दाजुले बताएका छन् । सीमाका बुवा घरगुजारा चलाउन १५ वर्षदेखि वैदेशिक रोजगारीमा छन्।

पुस ३० गते राति सुत्ने बेलामा छोरी गौरीलाई विष खुवाएर आफूले पनि खाएको थिइन्। उनको माघ १ गते मृत्यु भएको थियो। गौरीको त्यसको भोलिपल्ट माघ २ गते ज्यान गएको हो।

विष खाई गम्भीर बिरामी परेकी उनलाई पति समीरले मोटरसाइकलमा राखेर जनकपुरस्थित जानकी हेल्थ केयर एन्ड रिसर्च सेन्टरमा लगे। त्यहाँ आईसीयू सुविधा नभएपछि उनलाई जनकपुरकै अर्को राम जानकी हस्पिटलमा लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूले तरकारी बालीमा प्रयोग हुने ‘सेल्फास’ नामक विषादी सेवन गरेका थिए।

प्रकाशित मिति : २०७५ माघ ७ गते सोमवार