• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा भारी हिमपात, जनजीवन प्रभावित (फाेटाे फिचर)


माघ ८,  सल्यान।

सुदूरपश्चिमका र कर्णालीका हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात भएकाे छ । गएरातिदेखि सुरु भएकाे  हिमपातका कारण चिसो ह्वात्तै बढेपछि त्यहाँकाे जनजीवन प्रभावित भएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगाएतका जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएपछि चिसो बढेको हो । डडेल्धुरा सदरमुकाममा बिहान ५ बजेदेखि हिमपात सुरु भएको छ भने उच्च लेकाली भागमा राति नै हिमपात भएको हो । भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाइ आएको छ ।

त्यस्तै हिमपातले कर्णाली प्रदेश अन्तरगत हुम्लाको जनजीवन प्रभावित भएको छ। हिमपातसहित हावाहुरीले जिल्लाभरको जनजीवन कष्टकर भएको छ। सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका गाउँमा आवतजावत गर्न समेत समस्या भएको छ। अचानक रातिदेखि हिमपात हुन थालेपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन्।

सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ भने सिमकोटदेखि उत्तरी क्षेत्रका गाउँमा तीन फिटसम्म हिउँ जमेको बताइएको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावत समेत बन्द भएको छ।

निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगाएतका गाउँमा आवतजावत बन्द भएको छ। मुचुमा अहिलेसम्म झण्डै दुई फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कन समेत समस्या भएको छ। हिमपात भएसँगै चौपाया पनि प्रभावित भएका छन्। चिसो बढ्नुको साथै हावाहुरी चलिरहेको छ। सोमबार रातिदेखि हिउँ निरन्तर परिरहेको छ।

दुर्गम हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएको छ। हवाई सेवा बन्द हुँदा जिल्ला बाहिर जाने वा जिल्ला आउने सर्वसाधरणलाई समेत समस्या भएको छ। हिमपातले दैनिक उपभोग्य सामानको अभाव हुने देखिएको छ।

पढाइ प्रभावित

हिमपात हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका एसइइ तयारी गर्न टिउसन लिने विद्यार्थीको बिहानी पढाइ बन्द भएको छ । यहाँ भारी हिमपात हुँदा टिउसन बन्द गर्नु परेको मानसरोवर मावि हुम्लाका शिक्षाक धन बहदुर ऐडिले बताए। यसअघि हिमपात हुँदा टिउसन संचालन गरेपनि सोमबार रातिदेखि हिमपातसँगै चलेको हावाहुरीले पढाउन नसकिएको शिक्षक ऐडिले बताए।

किसानहरु हर्षित

लामो समयसम्म वर्षा नहुँदा चिन्तित यहाँका किसान चिसोको कहरले भन्दा बालीनाली सप्रने आशाले खुसी भएका छन् ।

यातायत ठप्प

हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ ।  दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि यातायात सेवा चलेको छैनन्।

डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँखर्क, भत्कडाँ, स्याउले बजारलगायत क्षेत्रमा करिब चार इन्च बाक्लो हिउँ जमेको छ। राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडरबाट डोजर मगाइ सडक खुलाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको हिउँ हटाउने र सडक खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। यसवर्ष यस क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो।

प्रकाशित मिति : २०७५ माघ ८ गते मङ्गलवार