माघ ११, काठमाडौं ।
प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ ।
नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको भए पनि सभामुख कृष्णबहादुर महराले संसदको काम कारबाही अघि बढाएर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएका हुन् । कांग्रेसको अवरोधकै बीचमा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले विधेयकमाथिको छलफलका लागि प्रस्ताव अघि बढाएका थिए ।
अवरोधका समयमा छलफलमा कुनै पनि सांसद सहभागी नभएपछि बहुमतका आधारमा चिकित्सा शिक्षा विधेयक पारित गरिएको हाे । अर्को बैठक माघ १७ गते बस्ने गरी स्थगित भएको छ ।
सहमति विपरीत विधेयक, डाक्टर केसीको अनशन जारी
अनशनरत डा गोविन्द केसीले आफ्नो सहमति विपरीत विधेयक पारित भएकोले आफ्नो अनशन नरोकिने बताएका छन् । आफूसंँग १५औँ अनशनमा भएको सहमतिको आधारमा नै चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने अडानमा रहेको बताउदै १६ औँ अनशनका बिच सरकारले उनीसँग भएको सहमतिविपरीत विधेयक पारित गरेको भए पनि आफ्नो अनशन नरोकिने केसीले बताएका हुन् ।
शुक्रबार दिउँसो एक बजे बसेको संघीय संसदको बैठकले बहुमतका साथ विधेयक पास गरे पनि आफूसँग भएको सहमतिको आधारमै चिकित्सा शिक्षा विधेयक संसदबाट पास नभएसम्म आफ्नो अनशन नरोकिने केसीको भनाइ उदृत गर्दै केसीको सहयोगी डा अभिषेकराज सिंहले बताए । उनले भने– “सरको सहमति विपरीत विधेयक पास भए पनि सरको अनशन जारी नै रहन्छ अब कसरी जाने भन्ने कुरा हामी केही बेलमा आन्तरिक छलफल पछि थप कुरा सार्वजनिक गर्ने छौँ ।”
यसअघि आफ्नो सम्झौताविपरीत विधेयक पास भए १६औँ सत्याग्रह सुरु गर्ने पटकपटकको समय दिँदै आएका थिए । तर, आफूसँग भएका सहमतिविपरीत विधेयक शिक्षा तथा स्वास्थ्य समितिबाट पास भए पछि गत पुस २५ गते डा केसीले इलामको सहरी विकास परियोजनाको कार्यालय परिसरबाट अनशन सुरु गरेका थिए ।
पछि केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गत माघ तीन गते बिहीबार राति डा केसीलाई नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । डा केसीसँग भएका केही सहमतिलाई पाखा लगाउँदै शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा बहुमतले पारित गरेको थियो। बैठकमा उपस्थित १८ जना सांसदमध्ये १४ जनाले विधेयकलाई समर्थन गरेका थिए भने चार जान सांसदले विधेयकमा संशोधनको माग गरेका थिए ।
नेपाली कांग्रेसका सांसदले संशोधनको माग गरे पनि सो विधेयक समितिबाट बहुमतले पारित भएको थियो। सुरुमा सरकारले सहमति बमोजिम विधेयक प्रस्तुत गरेको भए पनि पछि शिक्षा समितिमा डा केसीको सहमति विपरीत विधेयकलाई परिमार्जन गरिएको थियो । समितीबाट पारित गरेको विधेयक शुक्रबार बसेको संघीय संसदले विधेयक पास गरेर अन्तिम रूप दिएको हो ।
संसदबाट पारित भएको विधेयक अब राष्ट्रियसभाको बैठकमा पेस गरिने र त्यहाँबाट पनि पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा जानेछ ।