• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

यूएईमाथि नेपालको शानदार जित, रोहितले बनाए विश्व कीर्तिमान


माघ १२, काठमाडौं ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १४५ रनको शानदार जित निकालेको छ ।

दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीको मैदानमा शनिबार भएको दोस्रो एकदिवसीयमा नेपालले युएईलाई १४५ रनले हराएको हो । नेपालले दिएको २४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको युएई १९ ओभर ३ बलमा ‘अलआउट’ हुँदै मात्र ९७ रनमा समेटियो ।

युएईलाई सस्तैमा समेट्न सोमपाल कामीले ५ तथा सन्दीप लामिछाने ४ विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४२ रन बनाएको थियो ।

दोस्रो खेलमा ब्याटिङ सुधार गर्दै नेपालले घरेलु टोलीलाई २४३ रनको चुनौती दिएको हो । नेपालको फराकिलो स्कोरमा रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले । रोहितले ५८ बलमा नेपालका लागि सर्वा्धिक ५५ रन बनाएका थिए ।

त्यस्तै, आरिफ शेखले २९, उपकप्तान ज्ञानेन्द्र मल्लले ४४, कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१र२१ रन जोडे ।

त्यस्तै, करण केसीले १८ रन बनाउँदा सन्दीप लामिछाने १४ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरीले १० रन जोडे । युएईका इमरान हेदर र अमीर हायतले ३र३ विकेट लिए ।

जितसँगै नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । अब नेपाल र युएईबीचको निर्णायक तथा अन्तिम एकदिवसीय सोमबार हुनेछ ।

५ विकेट लिन सफल नेपालका सोमपाल कामी ‘म्यान अफ दी म्याच’ घोषित भए ।

रोहितको कीर्तिमान
नेपाली राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अन्तर्रा्ष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् ।

रोहितले अन्तर्रा्ष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वा्धिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउँदै रोहितले उक्त कीर्तिमान बनाएका हुन् ।

अन्तर्रा्ष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक पूरा गर्दा रोहित १६ वर्ष १४६ दिनका छन् । ब्याट्सम्यान रोहितको अन्तर्रा्ष्ट्रिय एकदिवसीय क्रिकेटमा यो पहिलो अर्धशतक पनि हो ।

रोहितले भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको कीर्तिमानलाई भंग गरेका हुन् । यसअघि, सचिनले १६ वर्ष २१३ दिनको हुँदा एकदिवसीयमा अर्धशतक बनाएका थिए ।
यस्तै, अफ्रिदीले १६ वर्ष २१७ दिन हुँदा अर्धशतक बनाएका थिए । रासस

प्रकाशित मिति : २०७५ माघ १२ गते शनिवार