• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

४ महिना देखि पठनपाठन अवरुद्ध भएको भन्दै सल्यानको एक विद्यालयमा तालाबन्दी


माघ १५, सल्यान ।
सल्यानको एक माध्यमिक विद्यालयमा विगत चार महिना देखी तीन विषयको अध्ययन अध्यापन नभएको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन् ।

जिल्लाको कुमाख गाउँपालिकामा रहेको बुद्घजनकल्याण माध्यमिक विद्यालय विगत चार महिना यता विषयगत शिक्षक नहँुदा पठनपाठनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । कात्तिक महिना देखी यता कक्षा ९ र कक्षा १०को विज्ञान विषयको पढाई ठप्प हुंदा पठनपाठनमा समस्या भएको कक्षा १० मा अध्ययनरत छात्र विनोद बुढाथोकीले बताए ।

चार महिना वितिसक्दा समेत शिक्षकको पदपुर्ती नहुंदा विज्ञान विषयको कोर्ष अधुरै रहेको उनले गुनासो गरेका छन् । चार महिना वितिसक्दा पनि विज्ञान जस्तोविषय पढाई नभएका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको उनले बताए ।

यस्तै ८ कक्षाको विज्ञान,गणित र पेशा व्यवसाय विषयको कोर्ष पनि चार महिनादेखी बन्द भएको कक्षा ८मा अध्ययनरत छात्र दीपक केसीले जानकारी दिएका छन् । विगत चार महिनादेखी शिक्षक सरुवा भएर गएको र कोही घर विदामा गएका शिक्षक पनि नफर्किएपछि ति विषयको अध्यन गर्न समस्या भएको उनले गुनासो गरेका छन् ।

वार्षिक परिक्षा आउन केही महिनामात्रै बाँकी छँदा समेत विद्यालयमा विषयगत शिक्षकको विकल्प नगरेको भन्दै तालाबन्दी गर्नु परेको कक्षा ९मा अध्यनरत छात्र युवराज खड्काले जानकारी दिएका छन् । उनले भने ‘हामीले विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिसंग पटक पटक पढाई संचालन गर्न शिक्षकको माग गर्यो तर अहिले सम्म पनि सुनुवाई भएन्‘ । हामीले पढ्न पाउने अधिकारबाटै वन्चित हुनुपर्दा समेत कसैले वास्ता गरेन,त्यसैले बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नु परेको हो ।’

विद्यालयमा तत्काल शिक्षकको पदपुर्ति गर्नु पर्ने र नियमित सबै विषयको कक्षा संचालन गर्ने लिखित सहमति नहुँदा सम्म तालाबन्दी नखोलिने लगायतका ९ बुंदे माग आफुहरुको रहेको खड्काले बताए ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार