• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

विश्वमै पहिलो पटक भएको नेत्रहीन क्रिकेटमा नेपालकाे विजयी सुरुवात, पाकिस्तानलाई १० विकेटले हरायो


माघ १५, काठमाडौं ।

विश्वमै पहिलो पटक आयोजना भइरहेको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालको महिला नेत्रहीन क्रिकेट टिमले मंगलबार पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हरायो । यो सँगै नेपालले ५ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

लाहेरस्थित किन्नर्ड द कलेजको क्रिकेट मैदानमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोली पाकिस्तान ५३ रनमै अलआउट भएको थियो । पाकिस्तानले दिएको ५४ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभरमा विना विकटेको क्षतिमा पूरा गरेको हो ।

विनिताले पहिलो ओभरकै सुरुवाती तीन बलमा चौका प्रहार गर्दै नेपाललाई शानदार सुरुवात दिलाएकी थिइन् । नेपालले पहिलो ओभरमै २० रन जोडेको थियो । नेपालको जितमा विनिता सर्वाधिक २८ रन बनाइन् । मनकेसीले अविजित १९ रन बनाइन् ।

पाकिस्तानका लागि किरन रफिकले ९ रन बनाउदा चार खेलाडीले खाता समेत खोल्न सकेनन् । पाकिस्तानले अतिरिक्त १६ रन पाएको थियो ।

उत्कृष्ट बलिङ गरेको नेपालको लागि सरिता घिमिरे र भगवती अम्गाईंले एक÷एक विकेट लिए । सरिता प्लेअर अफ दि म्याच घोषित भइन् । सरिताले पाकिस्तानी १५ हजार रुपैयाँ हात पारिन् ।

पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा पहिलो पटक नेपाल र पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीबीच अन्तर्राष्ट्रिय सिरिज भएको हो । सिरिजअन्तर्गत दोस्रो खेल बिहीबार फैसलावादमा हुनेछ ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार