• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

धुर्मुस-सुन्तलीले बनाउने रंगशालामा पहिलो म्याच भारत र पाकिस्तानलाई खेलाउछौँ : रेनु दाहाल


माघ १६, काठमाडौं ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवनमा बन्ने गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा पहिलो म्याच नै भारत र पाकिस्तानबीच खेलाउने योजना प्रस्तुत गरेकी छन् । धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने रंगशाला घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो योजना सुनाएकी हुन् ।

मेयर दाहालले भनिन्, ‘भारत र पाकिस्तानबीच राम्रो सम्वन्ध छैन । त्यसैले उनीहरु एक(अर्को देशमा गएर क्रिकेट खेल्दैनन् । कहिले यूएई कहिले दुबईमा गएर खेल्नुपर्ने अवस्था छ । त्यसका लागि लामो दूरी पार गर्नुपर्छ । यदि छिमेकी देश नेपालमा हामीले अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माण गरेको खन्डमा हामी दुई ढुंगाबीचको तरुल बन्न सक्छौं ।’

फाउन्डेसनले रंगशाला बनाएर हस्तान्तरण गरेपछि महानगरपालिकाले यसलाई सञ्चालन गर्ने उनले बताइन् । साथै रंगशाला निर्माणमा महानगरपालिका दिनरात जुट्ने उनको भनाइ थियो । रंगशालाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएको हो । यस विषयमा आजै फाउन्डेसन र महानगरपालिकाबीच सहमतिपत्र आदानप्रदान भएको थियो ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशाला थ्रिडी डिजाइन सार्वजनिक भएको छ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ ।

देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने छ । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । रंगशालाको गुरु योजना भने बनिसकेको छैन । ६ महिनाभित्रै गुरुयोजना बनिसक्ने र २ वर्ष्भित्रै हस्तान्तरण हुने बताइएको छ ।

हेर्नुहोस् उक्त रंगशालाको डिजाइन

प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार