• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

डा गाेविन्द केसी मरे सरकारलाई पाप लाग्ला : पूर्व-प्रधानन्यायाधीश श्रेष्ठ


माघ १७, काठमाडाैँ ।

तीन सातादेखि अनशनरत डा गाेविन्द केसीलाई भेट्न मंगलबार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ त्रिवि शिक्षण अस्पताल पुगेका थिए । अस्पतालकाे गणेशमान सिंह भवनमा अनशन बसिरहेका डा. केसीलाई भेट्दा उनी भावुक थिए । केसीकाे पक्षमा उनले ऐक्यबद्धता जनाउँदै ‘सत्याग्रही’ काे माग सरकारले सुन्नुपर्ने बताए ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने ‘सत्याग्रह अाध्यात्मिकतासँग झाेडिएकाे विषय हाे । सत्याग्रहीलाई हेप्ने वा ठट्टा गर्ने गर्नु हुँदैन । सत्य एक्लो र निर्धो हुँदैन र पराजित पनि हुँदैन ।’

बुधबार बिबिसी नेपाली सेवाको ‘नेपाल सन्दर्भ’ कार्यक्रममा बाेल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले डा गाेविन्द मरेमा सरकारलाई पाप लाग्ने बताए । उनले भनेका छन्, ‘एउटा मान्छेले सार्वजनिक सरोकारका लागि सत्याग्रहमा २१ दिनसम्म जीवन जोखिममा राख्ने, अर्को मान्छे म चेतनशील छु भन्ठान्ने तर आरामसँग बेमतलब बसिरहने ! यो त मिलेन भन्ने लागेर नै म उहाँ (डा केसी) को अवस्थाबारे जानकारी लिनका लागि भेटन गएकाे हुँ ।’

अाफू राजनीतिको कुनै कित्तासँग जोडिन नचाहेकाे प्रष्ट पार्दै उनले डा. केसीको पक्ष लिएर वकालत पनि नगरेको जिकिर गरे । यद्यपि सरकारले डा केसीसँगकाे संवादहीनता तोड्न र उनकाे अावास सुनेर सहमतिकाे विन्दु पहिल्याउन अाग्रह गरे ।

‘सत्याग्रह दक्षिण एशियामा आफ्नो असहमति जाहेर गर्ने एउटा आध्यात्मिक प्रक्रिया हो, पद्धति हो,’ श्रेष्ठले बिबिसीसँगकाे कुराकानीमा भनेका छन्, ‘पाप-धर्म भन्ने कुरा हुन्छ नि, त्यो मान्नुहुन्छ वा हुँदैन भन्ने मलाई थाहा छैन । तर मेरो ब्रह्मले के भन्छ भने- डा. केसीलाई सार्वजनिक हित वा प्रणालीका लागि जीवन नै त्याग्न बाध्य गरियो भने त्यो पाप हुन्छ । यस्ताे कर्म (सरकारबाट?) नहोओस् ।’

मंगलबार डा केसीलाई भेटेपछि उनले प्रतिनिधिसभाले बहुमतबाट पारित गरेकाे राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा रोकेर डा. केसीको माग पूरा गर्न सरकारसँग आग्रह गरेका थिए । डा केसीले उठाएका चिकित्सा शिक्षा सुधारसम्बन्धी मागहरू वैध रहेको प्रतिनिधिसभाबाट साे विधेयक पारित हुनुले समेत पुष्टि गरेको उनकाे भनाइ थियाे

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार