• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

कुपिण्डे तालकाे बारेमा केहि शब्द…


सल्यान जिल्लाको प्रमुख पर्यटकीय स्थल कुपिण्डे ताल, जहाँ पछिल्लो समय पर्यटकहरूको आकर्षण बढ्दै गएको छ । जसले गर्दा यसको चर्चा पनि बढ्दो छ । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रूपमा रहेको कुपिण्डे दह (ताल) कुपिण्डे गाविसमा पर्दछ । जिल्ला सदरमुकाम खलंगादेखि २४ किलोमिटर पश्चिममा पर्ने यो दह निकै मनोरम र आकर्षक छ ।

पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे दह देख्दा मोहित नहुने सायदै कोही होला । वरिपरि अग्ला–अग्ला पहाड, हरियाली जंगल र बीचमा नीलो आकाशझैं दक्षिणतिर फैलिएको मनै लोभ्याउने कुपिण्डे दह जिल्लाको प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल हो । दहको भौगोलिक क्षेत्रफल कति छ भन्ने वैज्ञानिक रूपमा नाप नभए पनि स्थानीयबासीले दुई हजार आठ सय क्षेत्रफलमा फैलिएको दाबी गर्छन् । वर्षेनी कुपिण्ड दहसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न आउनेहरूको संख्या पनि बढ्दै गएको पूजारी लालबहादुर कँवर बताउँछन् । उनका अनुसार कुपिण्डे दहले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ । वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने पूजारी कँवरको भनाइ छ ।

रहस्यमय के छ भने दहको पानी बगेर जाने ठाउँ देखिदैन र यसको गहिराइ कति छ भन्ने अनुमानबाहेक यथार्थ कसैले पत्ता लगाउन सकेको छैन । दहकै छेऊमा रहेको मन्दिरमा बराहदेवको आराधना गरिन्छ । यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र वैशाख शुक्लपूर्णिमाका दिन ठूलो मेला लाग्दछ । मेलामा बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, रुकुम, रोल्पा, दाङ, प्यूठान लगायतका जिल्लाबाट थुप्रै तीर्थयात्रीहरू आउने गर्दछन् । भेडा र कुखुराको बलि चढाइने उक्त मन्दिरमा सन्तान नभएका जोडीहरू आएर पूजा आराधना गरी सन्तान प्राप्तीको कामना पनि गर्दछन् ।

आजभोलि कुपिण्डे दह पिकनिक स्पट र अवलोकन भ्रमणको राम्रो गन्तव्यको रूपमा समेत विकास हुन थालेको छ । जिल्लाका विभिन्न सरकारी तथा गैह्रसरकारी निकाय र विद्यार्थीहरू पिकनिक तथा शैक्षिक भ्रमणको रूपमा कुपिण्डे दहलाई रोज्ने गरेका छन् । पछिल्लो समयमा कुपिण्डे दहमा आउने पर्यटकहरूको संख्या बढेको छ । कुपिण्डे दह संरक्षण तथा पर्यटन विकास केन्द्रका अनुसार विगत तीन वर्षमा आन्तरिक एवम् बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

जिल्लामा विभिन्न कार्यक्रम लिएर आउने सरकारी तथा गैह्रसरकारी कार्यालयका व्यक्ति, आगन्तुक एवम् स्वेदशी तथा विदेशी पर्यटकहरू सल्यान आएमा कुपिण्डे पुगेरै फर्किन्छन् । कुपिण्डे दह संरक्षण तथा पर्यटकीय विकास केन्द्रका अध्यक्ष झरेन्द कवँरले सल्यान खलंगा– बालुवासंग्रही सडकको ट्रयाक खोल्ने कार्य पूरा भएसँगै कुपिण्डे दहमा आउने पर्यटकको संख्या बढेको बताउँछन् । उनका अनुसार वर्षभरिमा आन्तरिक र बाह्य पर्यटक गरी १५ हजार बढीले दह अवलोकन गरिसकेका छन् ।

कुपिण्डे दह संरक्षण समितिले दहमा डुङ्गा (चम्फा) सञ्चालनमा ल्याएको छ । दहमा आएर डुङ्गा शेयर गर्ने पर्यटकहरू राप्ती अञ्चलसँगै भेरी अञ्चलका बाँके, बर्दिया, सुर्खेत र जाजरकोटबाट समेत आउने गरेको डुंग चलाक सेतीराम पुरी बताउँछन् । उत्तर दक्षिणतर्फ फैलिएको उक्त दहको पूर्व र दक्षिणमा ज्यामिरे पर्छ र उत्तरमा दह । दहमा पानी कतैबाट आउँदैन तर दक्षिण खाडल भएर निस्कन्छ । वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । ती सबैलाई संरक्षण गर्न दह वरिपरिको सय मिटर क्षेत्रभित्र कुनै पनि वन्यजन्तु र काठपात उपयोगका लागि बन्देज गरिएको बताउँछन् कुपिण्डे दह संरक्षण तथा विकास केन्द्रका अध्यक्ष झरेन्द्र कुँवर । जिल्ला विकास समितिको लगानीबाट दहदेखि करिब १ किमिको दूरीमा रहेको बावियाचौरसम्म मोटरबाटो पु¥याइएको छ ।

सडकबाट १५ मिनेटको पैदल यात्रा गरे दह देख्न सकिन्छ । यस मोटरबाटोलाई छिन्चु–जाजरकोट सडकअन्तर्गत बालुवासंग्रहीसम्म जोडिएको छ । दहको वरिपरिको जंगल क्षेत्र संरक्षण गरिएको छ । दहको पानी स्वच्छ र सफा भएकाले वरपरका गाविसमा खानेपानीको सुविधा समेत पुर्याउन सकिने सम्भावना रहेको छ ।

राम्रो सम्भावना हुँदाहुँदै पनि विकासका पूर्वाधारहरूको अभावका कारण कुपिण्डे दहलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिएको छैन । तीव्र भू–स्खलन र वरिपरिको जंगल संरक्षण नभएको हुँदा वर्षेनी दह पुरिने खतरा पनि उत्तिकै मात्रामा बढिरहेको छ । त्यसतर्फ सरोकारवाला निकायले बेलैमा सचेत हुन जरुरी छ । र यो पटक हाम्रो सल्यान कला साहित्य परिषद ले हाम्रो नियमित कार्यक्रम लाई निरन्तरता दिदै कुपिण्डेमा सष्टा भेटघाट तथा बिशेष गजल बाचन र कविता बाचन कार्यक्रम राख्ने जमर्को गरेको छ र उक्त कार्यक्रम बाट केहि नयाँ र नौलो पन दिने अभ्यास हामिले जरुर गर्नेछौ ।

ऐतिहासिक सम्भावना बोकेको कुपिडे दहलाई संसारभरि चिनाउन यो कार्यक्रमको पनि बिशेष भुमिका हुनेमा हामि ढुक्क छौ । र यहि माघ १९ गते हुने उक्त कार्यक्रममा उपस्थिति जनाई दिनुहुन सम्पुर्ण सल्यानबासि अामाबुवा दाजुभाई दिदिबहिनी लगायत छिमेकी जिल्ला हरुका साहित्यिक मन मुटु हरुमा सल्यान कला साहित्य परिषद परिवार हार्दिक अपिल गर्दछ ।

एक्सन आर.सी.
सल्यान

प्रकाशित मिती २०७५ माघ १७ गते

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार