• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा नगरपालिका भित्रै एक गाग्री पानी ल्याउँन एक घण्टा लाग्छ


माघ २३, सल्यान ।

बागचौर नगरपालिका वडा नम्बर ११ बाँफुखोला सल्यानको बुढा गाउँमा अहिलेसम्म खाने पानीको धारा नपुग्दा एक गाग्री पानीका लागि घण्टौं हिड्नुपर्ने बाध्यता अझै नहटेको स्थानीयबासीले गुनासो गरेका छन् ।

बागचौर नगरपालिका वडा नम्बर ११ अबस्थित पातिहाल्न बजार देखि थोरै माथितिर रहेको बुढागाउँमा एक गाग्री पानी लिनका लागी एक घण्टा लाग्ने स्थानीय एक युवा बसन्त बुढाले जानकारी दिए । उनले भने,‘मैले थाहा पाएदेखी एक गाग्री पानी ल्याउनका लागि आउँदा र जाँदा मात्रै एक घण्टा समय लाग्छ । यसले गर्दा घरको कुनै एक सदस्यको पानी ल्याउनमै पुरै दिन बित्छ ।’

खानेपानीको अभावकै कारण आफ्ना छोराछोरीको पढाइ समेत प्रभावित बनेको भन्दै स्थानीय ५८ वर्षिय बिर बहादुर बुढाले भने, ‘म बुढोले मेरा नानी बाबुलाई खानेपानी ल्याउ भनुकी पढ ? हाम्रा यस्ता पिडा कस्ले बुझ्छ ?’ स्थानीयका अनुसार झण्डै ब्राह घरधुरी बसोबास रहेको बुढागाउँको खानेपानीको यो समस्या अहिले नभएर पहिले देखिकै हो ।

बुढागाउँको खानेपानीको समस्यासँग सम्बन्धित रहेर ११ नम्बर वडा अध्यक्ष मोहनलाल खड्कासँग गरिएको छोटो कुराकानी

वडा नम्बर ११ मा रहेको खानेपानीको यो अभावलाई वडा कार्यालयले कसरी हेरीरहेको छ ?
बागचौर नगरपालिका वडा नम्बर ११ मा पर्ने यो बढा गाउँ वडाको बिकट भुभाग हो । यस्तै अन्य दुई तिनवटा बस्ती डाँडापाखामै छरियर रहेका छन् । खासगरी यिनै दुई तिनवटा बस्तीमा खानेपानीको चरम अभाव छ ।

वडा कार्यालयले खानेपानी सम्बन्धि गर्नुपर्ने र बजेटले भ्याएसम्मका काम गरीरहेका छौं । बजेट अभावले गर्दा सबैठाउँमा पुग्न नसकिएको मात्रै हो । तर,मैले खानेपानीको यही अभावलाई मध्यनजर गर्दै वडा,नगर,प्रदेश र केन्द्रसम्म कुरा राख्ने मात्र हैन यो अभावलाई यथासक्य सम्बोधन गर्दै सम्बन्धित ठाउँमा पहल गरिरहेको छु । त्यसैल खानेपानीका यस्ता समस्या अब धेरै दिन रहनेछैनन् ।

एक गाग्री पानीका लागि झण्डै एक घण्टा बढी हिड्ने जुन यहाँका स्थानीयको बाध्यता छ यसलाई छिटो भन्दा छिटो हल अबस्य गर्छु ।

नगरपरिषदको वैठक या नगर कार्यपालिकाको बैठकमा जनताका यिनै विषयबारे कत्तिको बोल्नुहुन्छ ?
यहाँकै जनताको मतले गर्दा आज यो वैठकमा आउँन पाएको छु भनेर मैले बैठकमा बसिरहँदा जहिल्यै सम्झन्छु । त्यसैले म हरेक बैठक या नगरपरिषदमा यो वडाका हरेक टोलका लागि समग्रमा सबै क्षेत्रको विकासका लागि जोडदार माग राख्न कुनै कन्जुस्याई गरेको छैन र गर्ने पनि छैन ।

त्यसैले पनि यो वडा विकट भएर होला अन्य वडाको तुलनामा हरेक वर्ष अन्य वडामा भन्दा बढी बजेटको ब्यवस्था भएको छ । अब पनि कार्यपालिका या नगरपरिषदका हरेक बैठकमा मैले यहाँका जनताका यिनै र यस्तै अन्य समस्यालाई सम्बोधन हुने किसिमको सुनिश्चिताको लागि जोडदार आवाज उठाउने मात्र है केही परिणाम देखीने गरी काम पनि सम्पन्न गर्नेछु ।

हरेक वडामा जस्तै तपाईको वडामा समेत बाटो निर्माणमा मात्र तपाईहरुको ध्यान गएको देखिन्छ । खानेपानी लगायत अन्य क्षेत्रलाई अहिले जस्तै ब्यवास्था गर्दै गएको खण्डमा तपाईको समृद्ध वडा बनाउँने योजना कहिले पुरा हुन्छ ?
अन्य वडामा भन्दा पनि यो वडामा अझै पुर्ण रुपमा बाटोको समस्या समाधान भएको छैन । पहिले गाविस कार्यालयलाई ध्यान दिएर बाटो निर्माण गरीएको थियो भने अहिले वडा कार्यालय र वस्तीलाई केन्द्र बनाएर बाटो निर्माण गर्नुपर्ने भएकोले यस्तो देखिएको मात्र हो । अझै पनि वडा नम्बर ११ का बिकट बस्तीमा बाटो नपुगेको अबस्था छ । खानेपानीका धार पुगेका छैनन् । सिचाईको अभावले बारी पुरै बाँझो राख्नुपर्ने बाध्यता छ ।

त्यसैले बाटो नपुगेको बस्तीमा बाटो लाने,खानेपानीको अभावलाई हटाउँने,बाँझो भूमिलाई सिँचाइयुक्त बनाई त्यसलाई जनताको आयआर्जन सँग जोड्ने कुरामा नै मेरो सम्पूर्ण ध्यान गएको छ । त्यसैले ११ नम्बर वडालाई समृद्ध वडा बनाउँने मेरो जुन किसिमको सपना छ ,त्यसलाई पुरा गरेरै छोड्छु ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार