• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

लगातारकाे बर्षाले सल्यान बागचौरको चारखोलामा पहिरो गयो


माघ २५, सल्यान ।

हिजाेदेखी परेकाे लगातारको बर्षाले सल्यानको बागचौर नगरपालिकामा पर्ने चारखोलामा सडकमा पहिरो खसेकाे छ ।

थारमारे-चौरजहारी सडक खण्डमा पर्ने चारखोलामा आज मध्याहन्न पहिरो गएपछि केहिबेर सवारी साधनहरु ठप्प भएका थिए । सडक दिउँसो साढे तिन बजे खुलेको हो । पहिराे झरेर सडक अबरुद्व भएपछि केहि गाडीहरु रातपराकाे सडकबाट आवातजावत गरेका छन् ।

सडक खुलाउनमा कसैले पहल नगरेकाले आफुहरुले ब्याल्चे, कोदालोले सडक खोलेको यात्रु विनोद बुढाथोकीले बताए । उनले भने– “डोजर लगाएर पहिरो हटाएको भए एकैछिनमा सडक खुल्थ्यो, तर यात्रुहरुले पहिरो फाल्दा धेरै समय लाग्यो ।” पहिरो हटेपनि सडक साँघुरो भएकाले गाडीहरु जोखिम मोलेर पहिरो पार गर्नुपरेको उनले बताए ।

यता नगरपालिका प्रमुख लोकमान बुढाथोकीले पहिरो गएको भन्नेबारे आफुलाई कसैले जानकारी नदिएको बताएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले भने– “म थारमारे बजारमै छु, पहिरो गएको कसैले जानकारी पनि दिएको छैन् । जानकारी दिएको भए मैले डोजर पठाइदिने थिए ।” पहिरो गएको आफुलाई थाहै नभएको उनले बताए ।

तस्बिर : नविन रावत, पहिरो गएको स्थानबाट

प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रवार