• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

जनयुद्ध दिवसमा बोल्दै मन्त्री ज्वालाले भने– “अब विगतका घटनालाई बिर्सनु पर्छ”


फागुन १, सल्यान ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विगतका घटनालाई बिर्सनु पर्ने बताएका छन् । विगतमा भएका घटनाहरुलाई फेरी दुखाउने काम गर्न नहुने भन्दै उनले त्यसको च्याप्टर नै कलोज गर्नुपर्ने बताएका छन् ।

सल्यानको खलंगामा जनयुद्ध स्मृति दिवस तथा शहिद परिवार अभिनन्दन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका ज्वालाले सबैले अबको मुल बाटो रोजेर जानुपर्ने बताएका छन् । अब बिकास निर्माण गर्ने बेला आएको भन्दै उनले विगतको च्याप्टर नै कलोज गर्नुपर्ने बताएका हुन् ।

मन्त्री ज्वालाले भने– “नेपालमा अहिले गणतन्त्र आएको छ, जनताले सोचेका सपना पुरा भएका छन् ।” राजतन्त्र फालेर गणतन्त्र आउनु सबैको लागी भाग्यमानी र ठुलो उपलब्धी भएको उनले बताए ।

त्यस्तै उनले अहिले धेरै आलोचना आईरहेकाले आलोचना आउनु भनेको बिष नभएर आफुले यसलाई अमृत सरह लिएको बताए । उनले भने– “आलोचना आउनु राम्रो कुरा हो, तर आलोचना पनि स्वस्थ हुनुपर्छ ।” सरकारका नराम्रा कामलाई आलोचना गर्नु र राम्रा कामलाई सम्मान गर्न सबैको दायित्व रहेको मन्त्री ज्वालाले बताए ।

सल्यान प्रदेश सभा ‘ख’ का सांसद समेत रहेका मन्त्री ज्वालाले कर्णाली तिर जोडिदा सल्यानले धेरै उपलब्धी र अबसर प्राप्त गरिरहेको बताए । उनले सबै क्षेत्रलाई समेटने गरी उत्पादनमा जोड दिने खालका समाजबादीमुलक कार्यक्रमहरु ल्याउनु पर्ने बताएका छन् ।
कार्यक्रममा शहिद परिवारहरुलाइ अभिनन्दन गरिएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १ गते बुधवार