• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सरकारी बेवास्ताले सल्यानको चुनढुंगा खानी अलपत्र


फागुन ५, सल्यान । खानीका रूपमा सल्यानको शारदा नगरपालिका ६, खामे लेक प्रख्यात मानिन्छ । चुनढुंगा बिक्री मार्फत लाखौं आम्दानी हुने भए पनि सरकारी निकायको बेवास्ताले वर्षौंदेखि खानी अलपत्र छ ।

अहिलेसम्म कुनै निकायबाट पनि चुनढुंगा उत्खनन प्रक्रिया अगाडि बढाइएको छैन । दुई पटकसम्म केही व्यापारीले चुनढुंगा उत्खननका लागि प्रक्रिया अगाडि बढाए पनि सरकारी निकायबाट स्वीकृति पाउन सकेनन् ।

विश्वकर्मा सिमेन्ट उद्योगले सरकारसँग सम्झौता गरेको सुन्नमा आए पनि अहिलेसम्म अवलोकन गर्नसमेत कोही नआएको स्थानीय चन्द्रबहादुर बुढाथोकी बताउँछन् । चुनढुंगा उत्खनन गरे धेरैले रोजगारी पाउने उनको भनाइ छ । उनले गाउँमै रोजगारी पाए काम खोज्दै भारतका विभिन्न सहर जानुपर्ने अवस्था अन्त्य हुने जनाए ।

सम्बन्धित निकायको बेवास्ताले खनिजले भरिएको खामेलेक बेकामे बनेको उनले गुनासो गरे । ‘यत्रा सम्पदा सरकारी बेवास्ताले वर्षौंदेखि अलपत्र छन्, खनिजलाई सदुपयोग गर्न सके स्थानीयको आम्दानी बढ्नुका साथै गाउँमै रोजगारी पाइन्थ्यो,’ उनले भने, ‘हामीले पटक–पटक विभिन्न निकायमा ध्यानाकर्षण गराए पनि बेवास्ता भइरहेको छ ।’

स्थानीय तहको आर्थिक स्थिति बलियो बनाउन विभिन्न कर बढाउनुभन्दा खनिज तत्त्व उत्खनन गरी बिक्री गर्नु राम्रो हुने शारदा नगरपालिका ६ का वडाध्यक्ष भिकराज बुढाथोकीले बताए । उनका अनुसार सरकारी प्रक्रिया जटिल भएकाले खानी उत्खननमा समस्या भएको छ । ‘चुनढुंगा उत्खनन गरी बिक्री गरे जिल्लाको विकासमा ठूलो टेवा पुग्थ्यो, धेरैले रोजगारी पाउथे,’ उनले भने, ‘युवालाई रोजगारीका लागि अन्य मुलुक गएर दुस्ख गर्नु पर्दैनथ्यो ।’

तीन दशकअघि खानी तथा भूगर्भ्विद्को टोलीले अनुसन्धानका क्रममा चुनढुंगा खानीबाट एक सिमेन्ट उद्योगका लागि सय वर्षसम्म प्रयोग गर्न सकिने जनाएको थियो । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले चुनढुंगा उत्खनन गर्ने प्रक्रिया केन्द्र वा स्थानीय सरकार कसको हुने निक्र्योल नहुँदा समस्या भएको बताए ।

‘चुनढुंगा उत्खनन गर्दा आसपासका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने हुन्छ । उनीहरूको जमिन खरिद गर्नेदेखि धेरै प्रक्रिया अपनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘कानुनी जटिलताले अहिले उत्खननमा समस्या भएको छ ।’ सर्वदलीय, सर्वपक्षीय बैठकको आयोजना गरी यसबारे आवश्यक निर्णयगरिने उनले बताए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ५ गते आइतवार