• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

कुलेखानी–३ को निर्माण अझै सुस्त


फागुन ६, काठमाडौं ।

पटक–पटक भाका सारिएको मकवानपुरमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै अनिश्चित छ । पुसमा परीक्षण उत्पादन गर्ने भनिएको आयोजनाको काम अझै सकिएको छैन ।

अन्तिम चरणमा पुग्दा पनि कामको गति सुस्त भएपछि आयोजनाले परीक्षण उत्पादनको नयाँ मिति तय गर्नसमेत सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बनाइरहेको यो आयोजना बनाउन लक्ष्यभन्दा ७ वर्ष ढिला भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अबको केही महिनाभित्रै कुलेखानी तेस्रोलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउँछन् ।

चिनियाँ ठेकेदार कम्पनीको बेवास्ताको शिकार बनेको यो आयोजनामा धेरै वर्ष सरकारी अधिकारीहरु मूकदर्शक बने, जसले गर्दा निर्माणको गति सुस्त भयो ।

चिनियाँ कम्पनी चे जियाङ जिल्लुनले अहिले इलेक्ट्रो मेकानिकल अन्तरगतको काम गरिरहेको छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएर आएपछि आयोजनालाई गति दिन प्रयत्न गरे पनि उनी सफल भएका छैनन् ।

चिनियाँ ठेकेदारले टेर्दै नटरेरेपछि चिनियाँ दूतावासमार्फत कुटनीतिकरुपमै पहल गरेर आयोजनामा जिम्मेवार भएर काम गर्न ठेकेदारमाथि दबाव सिर्जना गरियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ६ गते सोमवार