• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा विद्युतका कर्मचारीको लापरबाही, अनुमानले गर्छन् मिटर रिडिङ्ग (प्रमाण सहित)


फागुन ७, सल्यान ।

सल्यानमा विद्युत प्राधिकरणका कर्माचारीले विद्युत मिटर रिडिङ्गमा लापरबाही गर्दै आएको तथ्य फेला परेको छ ।

लेकाली अनलाइनको विषेश स्टिङ अप्रेसनमा नेपाल विद्युत प्राधिकरण सल्यान शाखाका विद्युत मिटर रिडिङ्ग गर्ने कर्माचारीले लापरबाही गर्ने गरेको प्रमाण फेला परेको हो । मिटर रिडिङ्ग गर्ने कर्मचारीले मिटर भएको स्थानमै नगएर अन्य ठाउँबाट अनुमानले विद्युत युनिट लेख्ने गरेका हुन् ।

जसले गर्दा ग्राहकहरु आर्थिक मारमा पर्ने गर्दछन् । यो समस्या दुर्गम गाउँहरुमा देखिएको छ ।

सल्यानमा विद्युत प्राधिकरण अन्तरगत ७ वटा एरिया नम्बर रहेका छन् । जसमा मिटर रिडिङ्ग गर्ने कर्मचारी ११ जना छन् ।

दुर्गम ठाउँमा केहि कर्मचारीहरु विद्युतको मिटर भएको घरमै नपुगेर बिच बाटोबाटै अनुमानले युनिट लेख्ने गरेका छन् । र त्यही लेखेकै युनिटका अधारमा सेवाग्राहीहरुले रकम तिर्दै आएका छन् ।

१० महिना अघी बागचौर नगरपालिका ९ बथान (बाख्खोर)का प्रेम बहादुर डाँगीले विद्युत मिटर जडान गरेर बत्ती बालेका थिए । उनको मिटरबाट उनि सहित ७ घरले बत्ती बाल्ने गरेका छन् ।

उक्त मिटर मार्फत विद्युतबाट संचालित ३ वटा टिभी र करिब ३० वटा सम्म नर्मल बत्ती बल्ने गरेका छन् । उनको मिटर बिलमा मासिक धेरै आएमा एक सय युनिटसम्म आउने गर्दथियो । कमर्चारीले नै पठाएको बिलको आधारमा उनले विद्युत प्राधिकरण सल्यानलाई रकम बुझाउदै आएका थिए ।

तर यसपटक भने उनको एक महिनाको मिटर बिलमा एक्कासी ७ सय युनिट आयो । जसमा ८ हजार २ सय ७५ रकम विद्युत महसुल लेखियो ।

क्याप्सन : अहिलेकाे मिटर रिडिङ्ग गर्दाकाे बिल

 

क्याप्सन : यसअघि मिटर रिडिङ्ग गर्दाकाे बिल

 

उनको बिलमा यसअघिको मिटर अंक २९४ थियो र ६० युनिट मात्रै प्रयाेग गरेकाे भएकाे थियाे । यसपटक ७ सय युनिट आउदा उनको मिटरमा अंक ९९४ लेखियो । मिटर चेक गर्दा पनि ९९४ नै छ ।

यति धेरै विद्युत युनिट र रकमको बिल आएपछि उनका भतिजा दिपसन डिसी लेकाली अनलाइनको कार्यलयमा आए । उक्त समस्यालाई लिएर उनि सहित लेकाली अनलाइनको टिम नेपाल विद्युत प्राधिकरण सल्यान शाखामा पुग्यो ।

त्यहाँ पुगेपछि मिटरमा समस्या नभएको, यती धेरै युनिट एकैपटक प्रयोग पनि नभएको तर मिटर रिडिङ्ग गर्ने कर्माचारीको लापरबाहीले यस्तो भएको प्रमाणीत भयो । कार्यलयको महसुल बुझाउने कम्प्युटरमा हेर्दा धेरै जसो युनिट अनुमानले लेखिएको बुझियाे।

मिटर रिडिङ्ग गर्ने कर्माचारीले पेस गरेको बिल अनुसार उनको पहिलो महिनाको युनिट ३८, दोस्रोको ३, तेस्रोमा ६८, चौथोमा ३, पाचौँमा १०१, छैटौँमा ०, सातौँमा २०, आठौँमा ६० युनिट लेखिएको छ । जसमा यो अबधीसम्म चलेको मिटर अंक बिलमा हेर्दा २९४ हुन्छ । तर यो सबै अनुमानले लेखेको अंक भएकाे बुझिन्छ । यसपटक मिटरमै पुगेर हेरेको अंक ९९४ छ । जसले गर्दा बिलमा एक महिनामा ७ सय युनिट देखिएको हाे ।

यसरी कर्मचारीको लापरबाहीले गर्दा सेवाग्राही मारमा परेका छन् । ७ सय युनिट आउदा प्रतियुनिट १३ रुपैयाँ तिर्नुपर्ने हुन्छ । तर सहि अंक हेरेर युनिट लेखेको भए युनिट कम देखिने र प्रतियुनिट रकम पनि कम पर्ने गर्दथियो ।

यस विषयमा नेपाल विद्युत प्राधिकरण सल्यानका प्रमुख अर्जुन पोखरेलले केही ठाउँ दुर्गम भएकोले यस्तो देखिएको बताए । तर कर्मचारीले गर्ने लापरबाहीलाई भने आफुले कडाई गरेको उनले बताएका छन् ।

आफु सल्यान आएको थोरै समय भएको भन्दै उनले यो समस्या पहिले भएको बताए । लेकाली अनलाइन सँग कुरा गर्दै उनले भने– “म आएदेखि यहाँ कडाई भएको छ । यो लापरबाही पहिलेकै थियो, मैले कडाई गरेपछि मात्रै कर्मचारी सोहि स्थानमा गएर मिटर रिडिङ्ग गर्नुभयो, अनि मात्रै सबै कुरा बाहीर आयो ।”

आफु कार्यालय प्रमुख भएको हैसियतले कर्मचारीलाई कडाई गर्ने र अबदेखि नियम नमान्ने कर्मचारीलाइ कारबाही गर्ने उनले बताएका छन् । कहिलेकहाँ कर्मचारीबाट समस्या हुनेगरेकाे भन्दै उनले जुनसुकै व्यक्ती पनि महसुल बुझाउन आउदा आफ्नाे मिटर अंक हेरेर आउन उनले आग्रह गरेका छन् ।

आफ्नाे कार्यालयबाट त्यस्ताे केही समस्या देखिएमा तल बाेर्डमा उल्लेखित व्यक्तीहरुलाइ सम्पर्क राख्न शाखा प्रमुख पाेखरेलले आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार