• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

करोडाैँ लगातकाे सल्यान कुमाख गाउँपालिकाकाे बिजुली एक महिनामै बिग्रीयाे


फागुन ८, सल्यान ।

करिब एक महिनाअघि सल्यानको कुमाख गाउँपालिकामा पहिलो पटक पुगेको बिजुली अहिले अन्धकारमा पुगेको छ ।

एक करोड बढी रकम खर्च गरेर कुमाख गाउँपालिकाले चौरजहारी क्षेत्रबाट लाइन बिस्तार गरी गाउँपालिकाको केन्द्र रागेचौरमा बिजुली बत्ती बालेको थियो । तर बिजुली पुगेको केही दिन नपुग्दै विद्युत बिग्रीएपछि रागेचौरबासी एक सातादेखि बत्ती बाल्नबाट बञ्चित भएका छन् ।

ट्रान्समिटर जडान भएकाे स्थानभन्दा अगाडी थदर भन्ने ठाउँमा विद्युतकाे तार चुडिएपछि समस्या भएकाे कुमाख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारीले लेकाली अनलाइनलाइ बताए । उनका अनुसार याे लाइन चाैरजहारीबाट ल्याइएकाे छ ।

पटकपटक समस्या आएपनि छिट्टै समाधान हुनेगरेकाे तर यसपटक मर्मतमा ढिला भएकाे उनले बताए । गाउँपालिकाले विद्युतकाे उद्घाटन गरिसकेपछि सबै जिम्मा नेपाल विद्युत प्रधिकरण सल्यान शाखालाइ दिइएकाे उनले बताए । मर्मतकाे लागी प्राधिकरणमा खबर गरेकाे तर कर्मचारी आउन ढिला गरेकाे उनले लेकाली अनलाइनलाइ बताए ।

यता नेपाल विद्युत प्राधिकरण सल्यान शाखाका प्रमुख अर्जुन पोखरेलले स्थानीय तहहरुलाइ जथाभावी तार र पाेल नकिन्न आग्रह गरेका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले अनुभवनै नभएका ठेकेदारहरुले तार र पाेल खरिद गर्दा कमसल खालकाे सामान हुने बताए ।

उनले भने- “अहिले विद्युत जडानकाे लागी स्थानीय तहमा हाेडबाजी चलेकाे छ । सडककाे काम गर्ने ठेकेदारले पनि विद्युतकाे काम गर्छन्, र कुनै अनुभव नभएपछि कमसलखालकाे सामान प्रयाेग हुन्छ ।” विद्युतकाे सामान जडान गर्नु अघि विद्युत प्रधिकरणलाइ चेक गराउनु पर्ने उनले बताए ।

कुमाख गाउँपालिकाकाे समस्याबारे भाेली या पर्सीसम्म कर्मचारी पुग्ने उनले बताए । अहिले जिल्लामा कम कर्मचारी भएकाे भन्दै उनले समस्या भएकाे बताएका छन् । जिल्लाकाे टाढाकाे दुरी भएकाले मात्रै त्यहाँ पुग्न ढिला भएकाे उनले बताए ।

स्थानीय तहमा बिजुली आएपछि कुमाख गाउँपालिकामा १५ घरधुरीले लाइन जडान गरी बत्ती बाल्दै आएका थिए । बत्ती नहुँदा अहिले सल्ले झर्को, सोलार र टुकी बाल्नुपर्ने अवस्था आएको स्थानीय दिलबहादुर रावतले बताए ।

पहिलोपटक स्थानीय तहको केन्द्रमा पुगेको बिजुली बत्तीलाई व्यवस्थित गर्न अर्का स्थानीय मीनबहादुर चन्दलले आग्रह गरेका छन् । उनले पहिलोपल्ट बत्ती बल्दा धेरै राहतको महसुस भएको तर प्राविधिक समस्याका कारण फेरि निराश हुनुपरेको बताए ।

रागेचौरमा पहिलोपटक बत्ती बलेपछि यो वर्ष २ वडामा लाइन विस्तारका लागि ७४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसअघिकाे सम्बन्धित समाचार

सल्यानको कुमाख र दार्मा गाउँपालिकामा पहिलो पटक विजुली पुग्यो

प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार