• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे बलिदान दिवस : ‘कतै जनसभा, कतै एमाले नेता मुर्दाबाद’ (फाेटाेफिचर)


फागुन १५, सल्यान ।

सल्यानका विभिन्न ठाउँमा हिजो बलिदान दिवस मनाइएको छ । विषेशगरी बलिदान दिवस विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सत्तारुढ दल (नेकपा)ले मनाएका हुन् ।

जिल्लाको कुमाख गाउपालिकाले पनि बलिदान दिवस मनाएको छ । जनयुद्ध तथा जनआन्दोलनमा सहादत प्राप्त गर्ने ५८ जना सहिद परिवारलाई गाउँपालिकाले १ हजार र दोसल्लाले सम्मान गरी बलाङकेट प्रदान गरेको छ ।

गाउँपालिकाको केन्द्रविन्दु रागेचौरमा भएको कार्यक्रममा माओवादी जनयुद्धका बेला ज्यान गुमाउने गाउँपालिका भित्रका सहिदका आफन्तलाई सम्मान गरिएको हो । गणतन्त्र प्राप्तीका लागि जिवन वलिदानी दिने सहिदको सम्मान गर्दै कुमाख गाउपालिकाले सम्मान तथा अभिनन्दन कार्यक्रम राखेको हो ।

कार्यक्रममा पुर्व सांसद उमाकान्त शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकीको विशिष्ट आतिथ्यता रहेको थियो । गाउपालिकाको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष दिलमाया बुढा, उपाध्यक्ष डिल्लीराज जैसी लगायतले सहिद दिल बहादुर रम्तेलको फोटोमा अविर लगाएर सम्मान गरेका थिए ।

त्यस्तै बागचौरमा विप्लवको नेकपाले दिवसको अवसरमा जनसभा गरेको थियो । शहिद परिवारलाई सम्मान तथा अभिनन्दन गरेर सो पार्टीले दिवस मनाएको हो ।

दिवसको अवसरमा सो पार्टीका भातृसंगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनको १८ औँ जिल्ला सम्मेलन र युवा संगठन नेपालको चौथो जिल्ला सम्मेलन भएको थियो ।

जनसभालाई पार्टीका केन्द्रीय सदस्य मिलनले सम्बोधन गरेका थिए । उनले जनतालाई सपना देखाएर गरिएको १० बर्षे जनयुद्घको अझै पुरा नभएको बताएका छन् । त्यसको अविभारा आफ्नो काँधमा आएको भन्दै उनले अब एकीकृत जनक्रान्ति हुने बताए ।

जलजला सांस्कृतीक परिवारले कार्यक्रममा सांगीतक प्रस्तुती राखेको थियो । जनसभामा जिल्लाभरीबाट नेकपाले मानिसहरु उतारेको थियो ।

त्यसैगरी बागचौरमै सत्तारुढ दल (नेकपा)ले पनि अर्काे कार्यक्रम गरेको थियो । (नेकपा)का कर्णाली प्रदेश सदस्यहरुको आयोजनामा बलिदान दिवसको अवसरमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य तथा सल्यान प्रतिनिधी सभाका सांसद टेक बहादुर बस्नेतले सम्बोधन गरेका थिए । उनले सहिदका सपना इमान्दारी पुर्वक पुरा गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा अभिनन्दन गरिएको थियो । जनबादी गायक झनकार बुढा र नविन खड्काले कार्यक्रममा सांस्कृतीक प्रस्तुती राखेका थिए ।

(नेकपा)का प्रेदेश सदस्य लोक बहादुर डाँगीले संचालन गरेको कार्यक्रमको सभाअध्यक्षता प्रदेश सदस्य कृती बहादुर पुन प्रकाण्डले गरेका थिए ।

जनयुद्धका क्रममा ज्यान गुमाउनेको सम्झनामा फागुन १४ गते प्रत्येक बर्ष बलिदान मनाउने गरिन्छ । तत्कालिन राज्यले २०५२ फागुण १४ गते दिल बहादुर रम्तेलको गोली हानी हत्या गरेले दिन देखि प्रत्येक बर्ष माओवादीहरुले साताब्यापी रुपमा बलिदान दिवस मनाउने गर्छन् ।

यसैबिच बलिदान दिवसको अवसरमा नेकपा एमालेका नेता मुर्दाबादको ब्यानर प्रदर्शन गरिएको छ । बागचौरमा सहिद हेमराज केसीको नाममा पैसा हिनामिना गरेको भन्दै एमालेकै कार्यकर्ताले एमालेका नेता मुर्दावादी लेखिएको ब्यानर प्रदर्शन गरेका हुन् ।

बलिदान दिवसको अवसरमा मंगलबार बागचौरमा रहेको हेमराजको सालिकमा सहिद हेमराजका परिवारले ब्यानर प्रदर्शन गरेका हुन् । उनिहरुले सहिदको नाममा तत्कालीन एमालेका नेताहरूले पैसा उठाएर हिनामिना गरेको भन्दै बिरोध स्वरुप ब्यानर प्रदर्शन गरेको जनाएका छन् ।

तत्कालीन एमालेका थारमारे गाविस अध्यक्ष रहेका हेमराज २०५४ सालमा राज्यपक्षबाट मारिएका थिए । उनको नाममा सालिक निर्माण गरिएको तर कति रकममा गरिएको भन्नेबारे अहिलेसम्म आफुहरुलाई कुनै जानकारी नभएको हेमराजका छोरी ज्वाइँ तथा एमालेका कार्यकर्ता नारायण दाहालले लेकाली अनलाइनलाई बताए ।

तत्कालीन एमालेका नेता प्रकाश ज्वाला सांसद रहेको बेला सांसद विकास कोषबाट सालिक बनाइएको थियो । तर कति बजेटमा बनाईयो भन्नेबारे आफुहरुलाई अहिलेसम्म कुनै जानकारी नभएको परिवारले जनाएको छ ।

सालिक निर्माण भए यतापनि हेमराजको नाममा थुप्रै पैसा आएको तर सार्वजनिक नभएको ज्वाइँ नारायण दाहालले बताए । उनले अहिलेसम्मको पैसा सार्वजनिक गर्न माग गरेका छन् ।

उनले भने– “सहिदको रगतमा टेकेर थुप्रै नेताहरु भए, तर हामीहरु उहीँ अवस्थामा छौं ।” सहिदको नामको पैसा नेताहरुप्रति उनले आक्रोश पनि पोखेका छन् । आफ्नो कुनै कुराको सुनुवाइ नभए अर्कोपटक नेताहरुको फोटासहितको ब्यानर पर्दर्शन गर्ने उनले चेतावनी दिएका छन् ।

२०५४ मा बागचौरमा विद्यार्थी आन्दोलनका क्रममा एमालेका हेमराज केसी, माओवादीका धनबाहादुर थापा र खुमराज डिसीलाई सरकारी प्रहरीले गोली हानी हत्या गरेको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार