• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

पर्यटनमन्त्री सवार हेलिकप्टर टुक्रा-टुक्रा भएर जल्याे, चिन्न नसकिने अवस्थामा ५ शब फेला


फागुन १५, काठमाडौँ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ५ शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ ।

‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ,’ दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुले भने, ‘प्रहरी आइपुगेको छैन। हामीले जीवित व्यक्ति भेटेका छैनौं। ५ वटा लाश जलिरहेको अवस्थामा छ।’

घटनास्थलमा पुगेका ठूलो फेदी स्वास्थ्य केन्द्रका इन्चार्ज उमानाथ पौडेलले अहिलेसम्म ५ वटा शव फेला परेको बताए। उनले भने, ‘पाथीभरा मन्दिरबाट उडेको १ मिनेटमा सिस्ने खोला तारेभीरको चुच्चोमा हेलिकप्टर खसेर दुर्घटना भएको हो।’

बुधबार बिहानसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको थियो । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको थियो ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताएका छन्। राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा सचिव राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको जानकारी दिए।

 

 

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार