• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे थारमारेमा चोरको बिगबिगी, फेरि अर्काे पसलमा चोरी


फागुन १६, सल्यान ।

सल्यानको थारमारेमा चोरहरुको बिगबिगी बढ्न थालेको छ । ४ दिन अघि फागुन १२ गते एकैसाथ १ पसल र १ विद्यालयको क्यान्टीनमा चोरी भएको थारमारेमा बुधबार राती फेरी चोरी भएको छ ।

थारमारे बजारमा रहेको युनिक मोबाईल पसलबाट पौने २ लाख बराबरको सामान चोरी भएको प्रहरीले बताएको छ । पसलमा रहेका विभिन्न ब्रान्डका मोबाईल सेट, पावर ब्याकप, एरफोन, उर्जा लाईट, मोबाईल चार्जर, सिमकार्ड गरी १ लाख ७६ हजार ८ सय रुपैयाँ बराबरको चोरी भएको पसल संचालकले बताएका छन् ।

चोरी गर्नेको अहिले खोजीकार्य र अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ । यसअघि जनकल्याण नमुना माध्यमिक विद्यालयको चमेना गृह र थारमारे बजारको तुल्सी कोल्ड स्टोरमा एकैसाथ गएराती चोरी भएको थियो । चोरी हुँदा विद्यालयको चाबि पनि चोरी भएको थियो ।

उक्त चाबि यसपटक चोरी भएको युनिक मोबाईल पसल अगाडि भेटिएको छ । चोरले त्यहीँ चाबिको सहायाताले ताल्चा खोलेको प्रहरीको अनुमान रहेको छ ।

बजार समितीको आकस्मिक बैठक

पसल चोरी भएपछि थारमारे बजार ब्यवस्थापन समितिले आकस्मिक बैठक गरेको छ ।

बजार ब्यवस्थापन समिति अध्यक्ष खल बहादुर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले बजारमा चोरी डैकतीका घटना भईरहेकोले बजारमा रातको समयमा आउने जो कोहीलाई सबै निकाय बाट पहिचान अनुसन्धान र सुचनाको जिम्मेवारी गर्ने वा सुचना दिने, होटेलहरुमा बास बस्न आउनेको सबै विवरण होटेलमा राख्ने निर्णय गरिएको छ ।

बैठकमा बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले प्रहरीले शान्ति सुरक्षा प्रबाहमा कमजोर देखिएकाले अबका दिन शान्ति सुरक्षालाई कडा रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् । बागचौर नगरपालिकाले अब छिट्टै बजारमा सिसि क्यामराको ब्यवस्था गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

बैठकमा जनप्रतिनिधी, सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दल, व्यापारी लगाएतको सहभागी रहेको थियो ।

याे पनि 

गएराती सल्यानको थारमारेमा एकैसाथ विद्यालय र कोल्ड स्टोरमा चोरी

प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते बिहिवार