• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

थारमारे–चौरजाहरी सडकको ग्राभेल एक वर्ष नपुग्दै भत्कियो, साढे ८ करोड बजेट स्वाहा


फागुन १७, सल्यान ।

सल्यानको थारमारेदेखि रुकुमको चौरजाहरी सडक खण्डको ग्राभेल भत्किएको छ ।

ग्रामीण राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत ८ करोड ४४ लाख रुपैयाँ खर्चिएको ग्राभेल एक वर्ष नपुग्दै भत्किएको हो । यातायात सुदृढीकरण कार्यक्रमले ठेक्कामार्फत थारमारेदेखि चौरजहारी सडकको स्यानीपिप्ली खण्डमा ग्राभेल गरेको थियो ।

३९ किलोमिटर सडकमा यात्रु सहजताका लागि ग्राभेल गरिएको हो । ग्राभेल गरेका अधिकांश सडक पुरानै अवस्थामा रहेका कारण यातायातका साधन सञ्चालनमा समस्या भएको हो ।

ग्राभेल गएपछि यात्रुले आउजाउमा सास्ती भोग्नुपरेको छ । सामान्य वर्षा हुनासाथ सडक हिलाम्य भएर यातायातका साधन सञ्चालनमा समस्या हुँदा यात्रु समस्यामा पर्ने गरेका छन् ।

ठेकेदारले लापरबाहीका कारण इस्टिमेट अनुसार काम नगरिएको स्थानीयको आरोप छ । स्थानीयका अनुसार माटो बढी हालिएकाले ग्राभेल सामान्य वर्षा हुँदा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको छ । सडक स्तरवृद्धिको जिम्मा रोशन एण्ड धनञ्जय जेबीले पाएको थियो ।

ठेकेदारले ग्राभेल गर्ने नाममा माटोमात्रै बिछ्याएकाले सडक पहिलाभन्दा बिग्रिएको चोरपानीकी प्रेमी विकले बताइन् । ‘सुरुसुरुमा काम गरेजस्तो ठीकै देखियो । काम सम्पन्न गरेको तीनरचार महिनादेखि सडकको अवस्था पहिलेको भन्दा खराब भयो,’ उनले भनिन्, ‘ठेकेदार कम्पनीले सडक स्तरवृद्धिमा लापरबाही गरेकै हो । लापरबाही नगरेको भए यति छिट्टै बिग्रने थिएन ।’

उनका अनुसार माटो बढी पटान गरेका कारण सवारीसाधन आवतजावतमा समस्या भएपछि यात्रुले सास्ती पाइरहेका छन् । सडकमा गाडी गुड्दा धूलोले बटुवाहरू हिंड्नै नसकिने अवस्था रहेको उनको भनाइ छ । उनले सहज रूपमा यात्रा गर्ने आशासहित घरबाट निस्कने यात्रुले गाडी धकेल्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको बताइन् ।

सडकको अवस्था दयनीय भएका कारण वर्षाको समयमा यात्रा जोखिममा पर्ने गरेको स्थानीय शिवप्रसाद थापाले बताए । उनका अनुसार ग्रामीण राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रम र स्थानीय तहले गत वर्ष करोडौं रकम खर्च गरी स्तरोन्नति गरेका सडक गुणस्तरहीन छन् । स्यानीपिप्लीबाट रागचौरसम्म खनेको सडकको अवस्था पनि बिजोग रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार