• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

शाेक प्रस्तावकाे निर्णय सल्यानमा लागु भएन, पार्टी कार्यालयमा ताल्चा


फागुन १९, सल्यान ।

सत्तारुढ दल (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन प्रति नेकपाले देशभरका सबै पार्टी कार्यालयमा आइतबार देखि तिन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आइतबार सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन भएका पार्टीका नेता अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले आज, भोलि र पर्सि दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय समेत गरेको छ ।

तर सल्यानमा भने (नेकपा)को पार्टी कार्यालय सुनसान देखिएको छ । पार्टीका कार्यकर्ताले जिल्लामा नेताहरुले कुनै चासो नदेखाएको भन्दै गुनासो गरेका छन् ।

आज कार्यालयको ढोकामा ताल्चा लगाइएको छ । कार्यालयको घरमा पार्टीको कुनै झण्डा पनि देखिएको छैन् ।

लेकाली अनलाइन सँग कुरा गर्दै नाम नबताउने सर्तमा एक कार्यकर्ताले भने– “देशलाई योगदान गर्नुभएका पार्टीका पुराना नेताको निधन भएको छ, देशभरीका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने र शोक पुस्तिका राख्ने केन्द्रले निर्णय गरेको छ । तर सल्यानमा जिम्मेवार नेताले कुनै वास्ता गरेका छैनन् ।” यसले गर्दा आफुहरु निराश भएको उनले बताए ।

यता नेकपाका प्रदेश कमिटी सदस्य निम बहादुर केसीले आफुहरुलाई थाहा नभएर त्यस्तो कार्य नगरेको बताएका छन् । यस बिषयमा जिल्लाबाट नेतृत्व गर्ने केन्द्रीय सदस्यहरु पनि बोल्न मानेका छैनन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार