• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

“Ncell लाई नेपालबाट लखेट्नुपर्छ, NTC लाई व्यबस्थित बनाउनुपर्छ”- नेता पुन


फागुन १९, सल्यान ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’ले दुरसंचार प्रदायक कम्पनी एनसेललाई नेपालबाट लखेट्नुपर्ने बताउका छन् ।

नेकपाको संगठन सुदृढिकरण तथा विस्तार अभियान अन्तरगत रुकुमको त्रिवेणी गाउँपालिका १ रुखामा भएको जनसभालाई सम्बोधन गर्दै उनले एनसेलले राज्यलाई तिर्नुपर्ने अरबौको कर नतिरेको भन्दै देशबाट लखेट्नु पर्ने बताएका हुन् । उनले एनसेल निगम पुजिवादी भएको आरोप लगाएका छन् ।

उनले भने– “एनसेल बिदेशी कम्पनी हो, अरबौँ पैसा राजस्व नतिरेर नेपाली जनतालाई लुटिरहेको छ ।” नेपाल सरकारको नेपाल टेलिकमलाई डुबाएर एनसेल चम्कीएको उनले बताएका छन् । उनले नेपाल टेलिकमलाई नै व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।

उनले भने– “एनसेलको केहि दलाल नेताहरुले प्रक्षपोषण गरिरहेका छन्, उनिहरुले एनसेलबाट कमिसन खाएर बचाउ गरिरहेका छन् ।” अदालतले फैसला गरेको कानुनलाई सरकारले कार्यन्वयन नगरेको भन्दै उनले सरकार भित्र ठुलो कमिसनको खेल भएको आरोप लगाएका छन् ।

 

जनसभालाई नेकपाका केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज अटलले पनि सम्बोधन गरेका थिए । त्रिवेणी गाउँ कमिटीका सेक्रेटरी छविलाल घर्तिले संचालन गरेको कार्यक्रमको सभा अध्यक्षता रुकुमका पुराना बामपन्थी नेता बाल कृष्णले गरेका थिए । कार्यक्रममा जलजला सांस्कृती परिवारको बेजोड प्रस्तुती रहेको थियो ।

यसैबिच नेकपाले रुकुममा संगठन विस्तार अभियानलाई पनि तिव्रता दिएको जनाएको छ । अभियानका क्रममा त्रिवेणी गाउँपालिका १ मा रमेश मल्लको अध्यक्षतामा ७ सदस्यीय युवाको वडा कमिटी बनाएको छ ।

सानोभेरी गाउँपालिका ८ मा टिकाराम ओलीको सेक्रेटरीमा ९ सदस्य वडा कमिटी, विजय विकको संयोजकत्वमा ७ सदस्यीय युवा कमिटी, पन्चाराम डिसीको संयोजकत्वमा ५ सदस्यीय किसान समिती पनि बनाएको नेकपाले जनाएको छ ।

भिमी विकको संयोजकत्वमा ५ सदस्यीय महिलाको इकाइ समिती र कर्णबिर विकको संयोजकत्वमा ५ सदस्यीय दलितको इकाइ समिती पनि गठन भएको नेकपा रुकुमले जनाएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार