• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानको कपुरकोटमा पनि ‘भ्यू टावर’ बनाइदै, यस्तो छ परिकल्पनाको भिडियो ?


फागुन २३, सल्यान ।

सल्यानको कपुरकोटमा पनि भ्यू टावर बन्नेभएको छ । यसअघि बागचौर नगरपालिका पनि भ्यू टावरको योजना सार्वजनिक भएको थियो । त्यसको केहि दिनमै कपुरकोटमा बुधबार भ्यू टावरको परिकल्पनाको भिडियो सार्वजनिक गरिएको हो ।

कपुरकोटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले पर्यटकीय भ्यू टावर सहित पर्यटकीय उद्यान तथा सांस्कृतिक संग्रहालयको पनि गुरु योजना तयार गरिएको छ । चिसो हावापानी, शान्त वातावरण, हिम शृंखला र तराईका समथर फाँट सजिलै देख्न सकिने अग्लो स्थान कपुरकोट–४ किमुचौरस्थित घंगारिचौरमा भ्यू टावर सहितको उद्यान तयार गर्नका लागि अवधारणा अघि सारिएको हो ।

इन्जिनियरको घर प्रालि काठमाडाैंको सहयोगमा कपुरकोट गाउँपालिकाले तयार गरिएको गुरु योजना अनुसार पाँच करोड रुपैयाँको लागतमा उद्यान तयार गर्न सकिने गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जनाए । स्थानीय स्तरमा उपलब्ध हुने स्रोत र साधनको प्रयोगबाट उद्यान निर्माण गर्न सकिने गरी गुरु योजना तयार भएको उनले जनाए ।

सुन्दरताको बेजोड नमुनाको रूपमा रहेको किमुचौरस्थित घंगारिचौरको डाँडोबाट अहिले नै उत्तरतिर हिमशृंखला, दक्षिणतर्फ दाङ उपत्यकाको समथर भूभाग तथा बाँके पारिसम्मको दृश्य देख्न सकिने भएकाले यस स्थानमा भ्यू टावर सहितको उद्यान र संग्रहालय निर्माण भएमा आन्तरिक तथा वाह्य पर्यटकहरूलाई आकर्षण गर्न सक्ने बलियो सम्भावना रहेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जनाए ।

२७ सय वर्गमिटरमा उद्यान फैलने

कपुरकोट बजारदेखि करिब दुई किलोमिटर पश्चिममा रहेको घंगारिचौरमा २ हजार ७ सय वर्गमिटर क्षेत्रफलमा उद्यान निर्माण गरिनेछ । जहाँ चारैतीरको रमणीय दृश्यहरू अवलोकन गर्नका लागि आधुनिक भ्यू टावर, सांस्कृतिक संग्रहालय, सहिद स्तम्भ जस्ता भौतिक संरचनाहरू रहनेछन् ।

‘हामीले उद्यान निर्माण गर्ने भनेको स्थानमा यसअघि नेपाल आर्मी रहँदा द्वन्द्वकालमा युद्ध भएको थियो । जहाँ धेरै जनाको ज्यान गएको थियो । त्यसलै उनीहरूको सम्झना र सम्मानमा सहिद स्तम्भ निर्माण गरिनेछ,’ गाउँपालिका अध्यक्ष सेनले भने, ‘सांस्कृतिक संग्रहालयमा गाउँघरमा लोप हुन लागेका तोरी पेल्ने कोल, ढिकी, जाँतोदेखि अन्य मौलिक संस्कृति झल्कने चिजवस्तुहरू राखिनेछ ।’ यस्तै गुरुयोजनामा शिव मन्दिर, बालउद्यान, वनभोज स्थल, खुला मञ्च र चमेनागृहजस्ता संरचना निर्माण गरिने उल्लेख गरिएको छ ।

पर्यटन प्रवर्धन गर्ने उद्देश्य

स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी सन्तुलित विकासमा सहयोग पुर्याउने आफूहरूको उद्देश्य रहेको जनाउँदै अध्यक्ष भीमबहादुर सेनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न उद्यानले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । यस्तै स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने, गाउँपालिकाको सामाजिक तथा आर्थिक विकासमा टेवा पु¥याउने, स्थानीयस्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्ने जस्ता उद्देश्यले यस्तो योजना अघि सारिएको उनले जनाए ।

यो योजना सम्पन्न गर्नका लागि बजेटको व्यवस्थापनमा आफुहरू लागेको जनाउँदै सेनले प्रदेश सरकार, संघीय सरकारसँग आवश्यक बजेट माग गरिने तथा निजी क्षेत्रबाट पनि लगानीको अपेक्षा गरे । यसका साथै खेल मैदान, सभाहल र कभर्ड हल निर्माणका लागि पनि गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

हेर्नुहाेस् परिकल्पनाकाे भिडियाे

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार