• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा विप्लव निकट महिलाहरुले कार्यक्रम गरिरहेको गाउँमा ब्यापक प्रहरी परिचालन !


फागुन २४, सल्यान ।

१०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सल्यानमा विप्लव नेकपाका महिलाहरुले गरेको खुल्ला कार्यक्रममा प्रहरी परिचालन भएको छ ।

जिल्लाको बागचौर नगरपालिका ३ सोतागार गाउँमा विप्लव निकट अखिल नेपाल महिला संघ सल्यानले गरेको कार्यक्रममा ब्यापक प्रहरी परिचालन भएको अनेमासंघ राप्ती ब्युरो संयोजक हेमन्ता बुढाथोकीले बताएकी छन् । कार्यक्रममा नेताहरुलाई पक्राउ गर्ने उद्देयश्यले प्रहरी परिचालन भएको उनले आरोप लगाएकी छन् ।

कार्यक्रममा पार्टी निकटका स्थानीय महिला मात्रै भएकाले पक्राउ गर्न नसकेको उनले बताइन् । उनले भनिन्– “ पार्टीका नेताहरुलाई नै लक्षित गरेर त्यहाँ ब्यापक प्रहरी परिचालन गरिएको रहेछ । तर नेताहरु त्यहाँ नभएका कारण पक्राउ गर्न प्रहरी असफल भयो ।”

यो क्षेत्र नेकपा सल्यानका जिल्ला सचिवालय सदस्य टाइगरको हो । उनलाई नै पक्राउ गर्ने उद्देश्यले प्रहरी परिचालन भएको स्थानीय महिलाले बताएका छन् । गाउँमा प्रहरी परिचालन हुनु निन्दनीय र दमनको बाटो भएको कार्यक्रमका महिलाहरुले बताएका छन् ।

यता इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी प्रमुख तिला भक्त बादेले आफुहरु नियमित गस्तीका क्रममा त्यहाँ पुगेको बताएका छन् । उनले कुनै कार्यक्रम विथोल्ने हिसावले नभएर गस्ती अनुगमनमा गएको बताए । उनले एउटा भ्यान र बाइकमा प्रहरी पुगेको बताएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार